पहलगाम आक्रमणलगत्तै काठमाण्डुमा सक्रिय डा. चौथाइवाले, के छ भित्री कारण ?

पहलगाम आक्रमणलगत्तै काठमाण्डुमा सक्रिय डा. चौथाइवाले, के छ भित्री कारण ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतको जम्मु–कश्मीरस्थित पहलगाममा भएको आतंककारी हमलामा २६ जनाको मृत्यु भएको घटनालगत्तै भारतीय जनता पार्टीको विदेश विभागका इन्चार्ज डा. विजय चौथाइवाले काठमाण्डु आएर सक्रिय भएका छन् ।

काठमाण्डुमा उनले भारतीय विदेशमन्त्री डा. एस जयशंकरको विशेष प्रतिनिधिको रूपमा उच्च पदस्थ राजनीतिक नेतृत्वसँग भेटवार्ता गरिरहेका छन् । स्रोतका अनुसार काठमाण्डुस्थित भारतीय दूतावासले डा. विजयलाई सरकारी प्रतिनिधि सरहको हैसियतमा भेटवार्ता व्यवस्थापन गरिरहेको छ ।

भारतको पूरै राज्य संयन्त्र पहलगाम आक्रमण विरुद्धको योजनामा जुटेका बेला डा. विजय काठमाण्डु आउनुलाई विशेष महत्त्वका साथ हेरिएको छ । भारतीय र पाकिस्तानी सञ्चारमाध्यमले भारतले पाकिस्तानका शंकास्पद स्थानमा आक्रमणको तयारी गरेको समाचार सम्प्रेषण गरिरहेका छन्, यस्तो बेला भारतले समर्थन र सहानुभूति बटुल्ने योजनाका साथ उनलाई काठमाण्डु पठाएको उच्च स्रोतले जनाएको छ ।

बुधबार बिहान काठमाण्डु आएका उनले दिउँसो प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. आरजु राणासँग भेटवार्ता गरेका छन् । यसअघि डा. चौथाइवालेलाई परराष्ट्रमन्त्री राणाले ‘राखी’ बाँधेकी थिइन्, जुन बहिनीभाइको विशेष सम्बन्धमा बाँध्ने गरिन्छ ।

उनै आरजु नेपालमा परराष्ट्रमन्त्री भएको बेला भारतले चौथाइवालेलाई विशेष प्रतिनिधि बनाएर काठमाण्डु पठाएको छ ।

बुधबारको भेटको संयुक्त फोटो सामाजिक सञ्जालमा राख्दै मन्त्री राणाले भेट फलदायी भएको बताएकी छन् । भेटमा नेपाल–भारत सम्बन्धको विस्तृत पक्षहरूको समीक्षा गरिएको उनले बताइन् ।

बुधबार चौथाइवाले गृहमन्त्री रमेश लेखकलाई पनि भेटेका छन् । उनले माओवादी केन्द्रका दोस्रो तहका नेता वर्षमान पुनदेखि जनार्दन शर्मासम्म, जनमत पार्टीका अध्यक्ष सीके राउत लगायतलाई भेट्ने कार्यक्रम रहेको बताइएको छ ।

विशेष प्रतिनिधि चौथाइवालेले नेपालका सबै प्रमुख राजनीतिक शक्तिसँग भेटवार्ता गरेर आतंककारी आक्रमणको घटनाबारे साझा धारणा बनाउन खोजेको बताइएको छ ।