नेपाल भारतको प्राथमिकतामा पर्ने साझेदार : भारतीय विदेशसचिव

नेपाल भारतको प्राथमिकतामा पर्ने साझेदार : भारतीय विदेशसचिव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतका विदेशसचिव विक्रम मिस्रीले नेपाल भारतको प्राथमिकतामा पर्ने साझेदार भएको बताएका छन् ।

नेपालको दुई दिने भ्रमणपछि सोमबार दिल्ली पुगेका विदेशसचिव मिस्रीले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै हाम्रा द्विपक्षीय सम्बन्धलाई अघि बढाउन मद्दत गरेको उल्लेख गरेका छन् ।

छिमेकी पहिलो नीति अन्तर्गत नेपाल भारतको प्राथमिकतामा पर्ने साझेदार हो । विदेश सचिवको भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै हाम्रा द्विपक्षीय सम्बन्धलाई अघि बढाउन मद्दत गरेको छ विदेशसचिव मिस्रीले विज्ञप्तिमा लेखेका छन् ।

मिस्रीले नेपालका परराष्ट्रसचिव सेवा लम्सालको निमन्त्रणामा आइतबार नेपालको औपचारिक भ्रमणमा आएका थिए । गत महिना विदेशसचिवको रुपमा कार्यभार सम्हालेपछि उनको यो पहिलो नेपाल भ्रमण हो ।

उनले नेपालमा समकक्षी लमसालसहित राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री श्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री श्री रमेश लेखक र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गरे । भेटहरूमा विविध पारस्परिक लाभदायी क्षेत्रमा भारत–नेपाल सहकार्यलाई थप सुदृढ गर्ने तरिकाबारे छलफल भएको उनको विज्ञप्तिमा उल्लेख छ ।

भेटमा दुवै पक्षले हालैको वर्ष द्विपक्षीय सहकार्य विशेष गरी कनेक्टिभिटीका विभिन्न क्षेत्र जस्तैं भौतिक, डिजिटल, ऊर्जा र जनता–जनताबीचको सम्बन्धमा हासिल उल्लेखनीय प्रगतिमा सन्तोष व्यक्त गरे । जुन सडक, पुल, एकीकृत जाँच चौकी, अन्तरदेशीय रेलवे साथसाथै पेट्रोलियम पाइपलाइन सम्बन्धी पूर्वाधार परियोजनाको निरन्तर कार्यान्वयनमा प्रकट भएको उनले बताएका छन् ।

विदेशसचिव मिस्रीले अन्य वरिष्ठ राजनीतिक नेताहरुका साथै नेपालका नागरिक समाजका सदस्यहरुसँग पनि भेटघाट गरेका थिए ।