काठमाण्डु – भारतका विदेश सचिव विक्रम मिश्री नेपालको दुईदिने औपचारिक भ्रमणमा आइतबार नेपाल आइपुगेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव अमृतबहादुर राईले भारतीय विदेश सचिव मिस्रीलाई स्वागत गरेका छन् ।
भारतीय विदेश सचिव मिश्री परराष्ट्र सचिव राईको निमन्त्रणामा नेपाल आएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको तयारीका सन्दर्भमा विदेश सचिव मिश्री नेपाल भ्रमणमा आएका हुन् ।
भ्रमणका क्रमका सचिवद्वयबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षका साथै कनेक्टिभिटी, विकास सहयोग र पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
यस्तै उनले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिने छन् । प्रधानमन्त्री ओली ३१ भदौदेखि १ असोजसम्म भारत भ्रमण गर्न भारतीय पक्षले प्रस्ताव गरेको छ। तर, भ्रमणको औपचारिक मिति तय भइसकेको छैन।
काठमाण्डुमा रहँदा भारतका विदेश सचिवले विदेश सचिव मिश्रीले राष्ट्रपति, परराष्ट्रमन्त्री, परराष्ट्रसचिव लगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। उनी सोमबार स्वदेश फर्किनेछन्।




प्रतिक्रिया