दलहरूका पार्टी कार्यालय पुग्यो सरकारको उच्चस्तरीय संवाद समिति

दलहरूका पार्टी कार्यालय पुग्यो सरकारको उच्चस्तरीय संवाद समिति


काठमाण्डु – सरकारले गठन गरेको उच्चस्तरीय संवाद समितिको टोलीले मंगलबार नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीको जेनजी आन्दोलनमा क्षतिग्रस्त कार्यालय भवनहरूको निरीक्षण गरेको छ ।

सरकारले गठन गरेको उच्चस्तरीय राजनीतिक संवाद समितिमा रहेका कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हा, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले पार्टी कार्यालयहरूको निरीक्षण गरेका हुन् ।

घटना भएको साढे ३ महिनापछि सरकारका प्रतिनिधि प्रमुख राजनीतिक दलका पार्टी कार्यालय पुगेका छन् ।

कांग्रेस पार्टी कार्यालयको भ्रमणपछि पत्रकारसँग कुरा गर्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री जगदीश खरेलले दलका कार्यालय निरीक्षणको उद्देश्य चुनावको वातावरण थप मजबुत बनाउनु र सरकारले गरिरहेको कामबारे पार्टी कार्यालयमै गएर जानकारी गराउनु रहेको बताए ।

आन्दोलनका बेला मुख्य दलका पार्टी कार्यालयहरूमा पनि क्षति पुगेकाले तिनको पुनर्निर्माण के–कसरी भइरहेको छ भन्ने जानकारी पनि लिइएको उनले बताए ।

सरकारले निर्वाचनको तयारी गरिरहे पनि नेपाली कांग्रेस र नेकपा एमाले विघटित प्रतिनिधिसभा पुन:स्थापनाको प्रयासमा लागेका छन् ।