सामाजिक सञ्जालदेखि क्लबमा समेत भ्रमण वषको प्रचारप्रसार गनुस् : मन्त्री भट्टराई


काठमाडौं – ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल पार्न भ्रमण वर्ष प्रचार प्रसारमा तथा व्यवस्थापनका लागि सरकारले तयारी तीव्र पारेको छ । सन् २०२० नजिकिँदै गर्दा सरकारले भ्रमण वर्षको प्रचारप्रसारलाई तीव्रता दिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।

सन् २०२० भ्रमण वर्षको प्रारम्भिक मिति भएपनि पर्यटन वर्ष कार्यक्रम एक दशक लामो योजना रहेको बताउँदै मन्त्री भट्टराईले सार्वजनिक यातायात, सामाजिक सञ्जाल, सञ्चारमाध्यम, चर्चित क्लब रोधीघरलगायत समाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई खुलेर भ्रमण वर्षको लोगो राखेर प्रचार प्रसार गर्न अनुरोध गरेका छन् ।

‘भ्रमण वर्ष २०२० मनोवैज्ञानिक वर्ष हो । यसमा हामीले पर्यटन व्यवसायको मनोविज्ञान बनाउने हो,’ मन्त्री भट्टराईले भने, ‘हाम्रो लक्ष्य एक दशकको हो ।’ मन्त्री भट्टराईले एक दशकभित्र भौतिक पूर्वाधार तथा विकास निर्माणका कार्यहरु समेत सबल भइसक्ने हुँदा सो समयमा ३५ लाख माथि पर्यटक वार्षिक नेपाल भित्रन सक्ने विश्वास व्यक्त गरे ।

मन्त्री भट्टराईले भ्रमण वर्षको अवसरमा नेपाल भित्रने पर्यटकको चापलाई ध्यानमा राखी सरकारले छिटोभन्दा छिटो लुम्बिनीमा निर्माणाधीन गौतमबुद्ध विमानस्थल सम्पन्न गर्न लागेको जानकारी दिए । विमानस्थल निर्माणको सबै काम भ्रमण वर्ष भित्रै सम्पन्न गर्नेगरी लागिपरिएको पनि मन्त्री भट्टराईले बताए ।

साथै सरकारले त्रिभुवन विमानस्थललाई समेत व्यवस्थित गर्ने भएको छ । ‘अहिले रहेको डोमेस्टिक एयरलाई दक्षिण तर्फको पेप्सिकोला तर्फबाट उडान गर्न मिल्ने गरी व्यवस्थापन गरिँदै छ । त्यस्तै, अहिले एयरर्पोटमा रहेको ट्याक्सी रनवेलाई हटाई जहाज पार्किङ्ग तथा उडानको व्यवस्थापन गरिने भएको छ । बाँकी रहेका खाली स्थानहरुलाई समेत प्रयोगमा ल्याइनेछ’ मन्त्री भट्टराईले भने ।

यता, देशैभरी रहेका साना ठूला ४३ एयरर्पोटहरुलाई व्यवस्थित गरिने र आफ्नो खर्च आफै मेन्टेन्स गर्न सक्षम बनाइने छ । ‘विविध कारण हाम्रा एयरर्पोटहरुले आफ्नो खर्च आफै धान्ने अवस्थामा छैनन् । यसको शीघ्र व्यवस्थापनको आवश्यकता छ,’ मन्त्री भट्टराईले भने, ‘अब पहाडी विमानस्थल बाहेकका तराई क्षेत्रका विमानस्थलहरुले आत्मनिर्भर हुनु पर्छ । एयरर्पोटको बिजनेस, अकुपाई तथा बाहिरी व्यवस्थापनमा एयरर्पोट आफै सक्षम हुनुपर्ने छ ।’ सन् २०२० को जनवरी १ मा भ्रमण वर्ष २०२० को उद्घाटन काठमाडौंको रंगशालासहित सातै प्रदेशबाट एकसाथ सुरु गरिँदैछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement