भिजिट भिसा प्रकरण : उच्चस्तरीय छानबिन समिति बनाउन कांग्रेस र माओवादी सहमत

भिजिट भिसा प्रकरण : उच्चस्तरीय छानबिन समिति बनाउन कांग्रेस र माओवादी सहमत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भिजिट भिसा प्रकरणमा सत्तापक्षसँग २ बुँदे सहमति गरेको प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले नेपाली कांग्रेससँग उच्चस्तरीय छानबिन समिति बनाउन तयार भएको छ ।

गृहमन्त्रीको राजीनामा र संसदीय छानबिन समितिको माग छाडेर सहमतिमा आएको केही दिन बित्न नपाउँदै माओवादी केन्द्रका दोस्रो तहका नेताहरूले नेपाली कांग्रेससँग ‘गोप्य’ छलफल गरेर समिति बनाउन तयार भएका हुन् ।

कांग्रेस र माओवादी केन्द्रका नेताहरूबीच बिहीबार गोप्य छलफल भएको थियो ।छलफलमा समितिको टिओरबारे समेत छलफल भएको स्रोतले बतायो ।

उक्त छलफलमा सहभागी नेताहरू दुवै पक्ष भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा सहमत भएका हुन् । नेताहरूका अनुसार यस विषयमा सत्तामा रहेको अर्को घटक एमालेको पनि सहमति लिइनेछ ।

दुई पार्टीका नेताहरूबीच भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनेबारे छलफल भएको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए । उनका अनुसार उच्चस्तरीय समिति मन्त्रिपरिषद्ले गठन गर्नेछ ।

छानबिन समितिले भिजिट भिसाका सन्दर्भमा सबै प्रकारको छानबिन गर्ने र सुझाव समेत दिनेछ ।

छलफलमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी थिए । यस्तै माओवादीको तर्फबाट उपमहासचिव पुनसहित नेता शक्तिबहादुर बस्नेत थिए ।

छलफलमा जुटेका नेताहरू पार्टीभित्र सभापति शेरबहादुर देउवा र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिन्छन् ।

माओवादीले कांग्रेस विरुद्ध अडान छाडेको र संसद्मा अन्य प्रतिपक्षी दलहरूको अवरोध जारी रहेको बेला भएको गोप्य छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ ।