भिजिट भिसाका नाममा वायुसेवा निगमका कर्मचारीद्धारा मानव तस्करी !

भिजिट भिसाका नाममा वायुसेवा निगमका कर्मचारीद्धारा मानव तस्करी !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल वायुसेवा निगमका कर्मचारीले फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग ‘मिलेमतो’ गरेको खुलेको छ ।

भिजिट भिसामा विदेश पठाउने गिरोहसँग ‘मिलेमतो’ गरेको आरोपमा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत थप दुई जना अधिकृतलाई पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नेपाल वायुसेवा निगममा कार्यरत अधिकृतहरू अरविन्द यादव र विश्वनाथ कोइरालालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेपाल वायुसेवा निगममा कार्यरत अधिकृतहरू अरविन्द यादव र विश्वनाथ कोइराला रहेका छन् । यसअघि वायुसेवा निगममा कार्यरत अर्का अधिकृत होमनाथ पोखरेल र एजेन्ट पदम लामालाई  प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

यससगै भिजिट भिसाका नाममा भइरहेको ‘मानव तस्करी’ को सेटिङको पोल बाहिर आएको छ ।  पक्राउ परेकालाई सार्वजनिक गर्दै प्रहरीले उनीहरुले कुन प्रक्रियाबाट मान्छे पठाइरहेका छन् भन्ने जानकारी दिएको हो ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूले ट्राभल एजेन्टको मिलेमतोमा विदेश जान चाहनेहरूलाई नक्कली सर्टिफिकेट, बैंक स्टेटमेन्ट, प्रहरी रिपोर्ट तथा नक्कली भिसा बनाइदिने गरेका थिए ।

काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार चार जना व्यक्ति पक्राउ परेलगत्तै केही एयरलाइन्स तथा तिनका कर्मचारीमाथि अनुसन्धान थालिएको छ ।

बुधवार आयोजित पत्रकार सम्मेलनमा प्रहरीले हालसम्म यो प्रकरणमा ३२ जना पक्राउ परिसकेको जानकारी दिएको छ । पक्राउ पर्नेहरुमा केही कन्सल्टेन्सी सञ्चालक पनि छन् ।

भिजिट भिसामा विदेश जानेहरूसँग फेला परेका शङ्कास्पद कागजात अनुसन्धान गर्दै जाँदा प्रहरी फर्जी कागजात बनाउने गिरोहको कारखानासम्म पुगेको थियो ।

वायुसेवा निगमका अधिकृतहरूले गिरोहसँग मिलेर आर्थिक लाभ लिने गरेको प्रहरीको निष्कर्ष छ । त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले सङ्कलन गरेर पठाएको १ हजार ३२ थान भिसा सहितका कागजातबाट उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान थालेको थियो ।