उपराष्ट्रपति पुन र फ्रान्सका राजदूतबीच शिष्टाचार भेटवार्ता


काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि फ्रान्सका राजदूत प्रान्कोइज जेभियर लेगरले शिष्टाचार भेट गरेका छन् ।

बिहिबार अपरान्ह उपराष्ट्रपति भवन, ग्रीनहाउसमा फ्रान्सका राजदूत लेगरले उपराष्ट्रपतिसँग शिष्टाचार भेट गरेका हुन् ।

भेटमा उपराष्ट्रपति पुनले नेपाल र फ्रान्सको सम्बन्ध धेरै पुरानो र उत्कृष्ट भएको बताए । उनले दुई देशबीचको सम्बन्ध जनस्तरसम्म फैलिएको र प्रगाढ बन्दै आएको बताए ।

नेपाल राजनीतिक स्थायित्वपछि ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारासहित विकास र समृद्धिको मार्गमा अग्रसर रहेको बताउँदै उनले कृषि, पर्यटन, जलविद्युतको विकास, भौतिक पूर्वाधार निर्माण र सुशासन कायम नेपालको प्राथमिकतामा रहेको बताए ।

उपराष्ट्रपतिले यूरोपियन यूनियनले नेपाल वायु सेवा निगमको यूरोपियन गन्तव्यमा हुने उडानमा सहजीकरण गर्नुपर्ने बताए । ‘हामी नेपाल वायु सेवाको जहाज युरोपमा उडान भर्न चाहन्छौँ’, उपराष्ट्रपति पुनले भने, ‘युरोपियन युनियनले नेपाल वायु सेवा निगमको युरोपियन गन्तव्यमा हुने उडानका लागि सहजीकरण गरिदिनुपर्छ ।’

उपराष्ट्रपतिसँगको भेटमा फ्रान्सका राजदूत लेगरले नेपालको राजनीतिक स्थायित्व, आर्थिक विकास र सांस्कृतिक सम्पदा देखेर फ्रान्स खुशी रहेको बताए । उनले फ्रान्स र नेपालबीच औपचारिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको बताउँदैै दुई देशबीचको सम्बन्ध प्रगाढ बनिरहेको बताए ।

राजदूत लेगरले फ्रान्सले नेपालसँग औद्योगिक तथा आर्थिक विकासमा साझेदारी गर्न चाहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement