एजेन्सी- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण अन्त्यका लागि भइरहका वार्ता सफल नभएमा तेस्रो विश्व युद्ध हुने बताएका छन् । अमेरिकी समाचार संस्था सिएनएनसँग बोल्दै जेलेन्स्कीले आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ता गर्न चाहेको र यदि वार्ता सफल नभएमा तेस्रो विश्व युद्ध हुने चेतावनी दिएका हुन् ।
उनले तेस्रो विश्व युद्ध हुनबाट रोक्नको लागि एक मात्र माध्यम वार्ता भएको दावी गरे । ‘मलाई लाग्छ हामीले कुनै फरम्याट प्रयोग गर्नुपर्छ । हामीले कुनै पनि ढाँचा प्रयोग गर्नुपर्दछ ।’, उनले भने ।
उनले युक्रेनले रुसले समर्थन जनाएको पृथकतावादी क्षेत्रहरूलाई स्वतन्त्र रूपमा मान्यता दिनु पर्ने कुनै पनि सम्झौता अस्वीकार गरेको बताए । आफ्नो देश नेटोको सदस्य नभएको भए रुसले युक्रेनमाथि हमला गर्न नसक्ने बताएका छन् । ‘यदि नेटो सदस्यहरू हामीलाई गठबन्धनमा हेर्न तयार छन् भने, तुरुन्तै गर्नुहोस्,’ उनले भने, ‘किनभने मानिसहरू दैनिक जसो मरिरहेका छन् ।’
त्यसैगरी रुसले मारियुपोल सहरको अन्तिम कब्जाका लागि दिएको आत्मसमर्पणको म्याद सकिएको छ । आइतबार राती मारियुपोल प्रशासनलाई मस्को समय अनुसार बिहान ५ बजे आत्मसमर्पण गर्न समय दिएको थियो । तर, युक्रेनले आत्मसमर्पणको प्रस्तावलाई पहिले नै अस्वीकार गरिसकेको छ ।
रुसी सेनाले आइतबार राति राजधानी कीभको एक आवासीय क्षेत्र र एउटा सपिङ मलमा हवाई हमला गरेको छ । उक्त हवाई आक्रमणमा चार जनाको मृत्यु भएको जनाइएको छ ।




प्रतिक्रिया