नयाँ मतदाता नामावली संकलन खुल्यो, अनलाइनबाट प्रि–रजिस्ट्रेसन हुने तर विदेशबाट दर्ता नहुने

नयाँ मतदाता नामावली संकलन खुल्यो, अनलाइनबाट प्रि–रजिस्ट्रेसन हुने तर विदेशबाट दर्ता नहुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निर्वाचन आयोगले मतदाता नामावली संकलन कार्य पुन: सञ्चालन गर्ने भएको छ ।

आयोगको निर्णयअनुसार अब मिति २०८२ कात्तिक ३० गतेसम्म देशभर मतदाता नामावली संकलन र अद्यावधिक कार्य चल्ने भएको हो ।

आयोगका अनुसार कार्यक्रमअन्तर्गत १६ वर्ष उमेर पूरा भई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका तर यसअघि मतदाता नामावलीमा नाम दर्ता नगरेका नागरिकले बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरूमा पुगेर नाम दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ ।

यसैगरी विवाह वा बसाइँसराइँका कारण ठेगाना परिवर्तन भएका मतदाताले नामसारी गर्न सक्ने, विवरणमा त्रुटि परेमा सच्याउन सक्ने तथा नयाँ मतदाता दर्ता हुने व्यवस्था समेत मिलाइएको आयोगले जनाएको छ ।

आयोगले अनलाइन प्रि–रजिस्ट्रेसन प्रणाली पनि सुरु गरेको छ । आयोगको वेबसाइटमार्फत प्रि–रजिस्ट्रेसन गरी आवेदन भरेपछि सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भई जैविक (बायोमेट्रिक) विवरण उपलब्ध गराउनुपर्नेछ । अनलाइनबाट भरेको विवरण पुष्टि गर्न प्रदेश र जिल्ला निर्वाचन कार्यालयमा जानुपर्ने भएकाले विदेशबाट मतदाता नामावली दर्ता गर्न नसकिने भएको छ ।

आगामी २०८२ साल फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो नागरिक अधिकार प्रयोग गर्न आयोगले योग्यता पुगेका सबै नेपाली नागरिकलाई अनिवार्य रूपमा नाम दर्ता गर्न वा विवरण अद्यावधिक गर्न आग्रह गरेको छ ।

निर्वाचन आयोगका प्रवक्ता सहसचिव नारायण प्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा सार्वजनिक बिदाबाहेक हरेक दिन कार्यालय समयसम्म मतदाता नामावली संकलन र अद्यावधिक कार्यक्रम सञ्चालन हुने जनाएका छन् ।