स्थानीय तहबाट मतदाता नामावली दर्ता गर्ने कार्यविधिको मस्यौदामा आयोगले माग्यो सुझाव


काठमाण्डु – निर्वाचन आयोगले स्थानीय तहबाट पनि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न सकिने गरी बनाएको कार्यविधिको मस्यौदामा सुझाव मागेको छ ।

कार्यविधिको मस्यौदामा सरोकारवालाको सुझाव संकलनका लागि आयोगको वेबसाइटमा अपलोड गरिएको आयोगले जनाएको छ ।

मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यलाई सरल, सहज र नागरिकको पहुँचमा पुर्‍याउन तथा मतदाता नामावलीमा थप शुद्धता कायम गर्न स्थानीय तहबाट नै मतदाता नामावली दर्ता र अद्यावधिक गर्ने प्रयोजनका लागि कार्यविधिको मस्यौदा बनाइएको छ ।

मस्यौदामा कुनै पालिकाले आफ्नो केन्द्र वा वडास्तरबाट नाम दर्ता गर्न इच्छुक भई निर्वाचन कार्यालयमार्फत आयोगमा अनुरोध गरेमा पालिकाको भौतिक स्रोतसाधन र जनशक्तिको अवस्था हेरी आयोगले अनुमति दिने व्यवस्था गरिएको छ । अनुमति प्राप्त गरेपछि सम्बन्धित पालिकाको केन्द्र वा वडास्तरमै नाम दर्ता अधिकारी र दर्ता कर्मचारी तोकी मतदाता नामावली दर्ता कार्य प्रारम्भ हुनेछ ।

दर्ता भएका व्यक्तिको विवरण अन्तिम मतदाता नामावली प्रकाशन हुने समयमा आयोगमा प्राप्त गरी अद्यावधिकको प्रक्रियामा लैजाने व्यवस्था रहेको जनाइएको छ ।

निर्वाचन आयोगलाई आफ्नो काम पूरा गर्न आवश्यक पर्ने कर्मचारी र अन्य सहयोग नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले उपलब्ध गराउनेछ भन्ने व्यवस्था भएअनुसार मस्यौदा तयार गरेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement