काठमाण्डु – प्रतिनिधिसभा चुनावको लागि बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । बेलुकी ५ बजेसम्म आफ्नो मतदान केन्द्रमा पुगेका मतदाताले भोट दिन पाउनेछन् । भोट दिनको लागि मतदाता नामावलीमा नाम भएको र बुधबारसम्म १८ वर्ष उमेर पुगेको हुनुपर्छ ।
आफ्नो नाम भएको मतदान केन्द्रमा जानुपर्छ । साथमा मतदाता परिचयपत्र बोक्नुपर्छ । मतदाता परिचयपत्र हराएको, नासिएको वा नष्ट भएको अवस्थामा नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी (पासपोर्ट), राष्ट्रिय परिचयपत्र, गाडी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) वा जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) को सक्कल प्रति देखाएर पनि मतदान गर्न पाइने व्यवस्था गरिएको छ ।
मतदान केन्द्रमा पुरुष र महिलाको लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको हुन्छ । अशक्त, ज्येष्ठ नागरिक, अपांगता भएकाको लागि लाइन बस्न नपर्ने व्यवस्था मिलाइएको छ । आफ्नो पालो आएपछि मतदाताको नाम मतदाता नामावलीमा रुजु गरिनेछ ।
त्यसपछि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मतपत्र उपलब्ध गराइनेछ । मतदाताले गोप्य मतदान कक्षमा गई आफूले मन पराएको उम्मेदवारको चुनाव चिन्हमा छाप लगाएर प्रत्यक्षतर्फको मतपेटिकामा मत खसाल्नुपर्नेछ ।
प्रत्यक्षतर्फ मतदान गरेलगत्तै समानुपातिक तर्फको मतपत्र प्रदान गरिनेछ । समानुपातिक प्रणाली अन्तर्गत मतदाताले आफूले रोजेको राजनीतिक दलको चुनाव चिन्हमा छाप लगाई छुट्टै मतपेटिकामा मत खसाल्नुपर्छ ।
सेतो पृष्ठभूमिमा रातो रङको निर्वाचन चिन्ह भएको मतपत्र मतदान अधिकृतले दिनेछन्। यो भनेको प्रत्यक्षतर्फ उम्मेदवारलाई जाने मत हो।
कर्मचारीले दिएको मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर छ कि छैन चेक गर्नुहोस्। छैन भने त्यो मतपत्र प्रयोग नगर्नुहोस्।
गोप्य कोठाभित्र गएर त्यहाँ राखिएको स्वस्तिक छाप कसैले नदेख्नेगरी आफूले रोजेको उम्मेदवार वा दलको चिन्ह भएको कोठाभित्र मात्र लगाउनुहोस्।
छाप लगाउँदा चिन्हमा नपर्ने गरी र त्यो कोठाभन्दा बाहिर धर्कामा पनि नपर्ने गरी स्पष्ट छाप देखिने गरी एकै ठाउँमा एकपटक मात्र लगाउनु पर्नेछ।
अरू कुनै ठाउँमा फेरि छाप लगाउनु हुँदैन। अनि हस्ताक्षर, औंठाछाप, टिकमार्क वा अन्य केही पनि लेख्नु हुँदैन। छाप लगाइसकेपछि मसी नलतपत्तियोस् भन्नका लागि सावधानीपूर्वक मतपत्र पट्याउनुहोस् र तोकिएको मतपेटिकामा मात्र खसाल्नुपर्नेछ।
पुनः मतदान अधिकृतले सेतो पृष्ठभूमिमा कालो रङको निर्वाचन चिन्ह भएको मतपत्र दिनेछन्। यो भनेको समानुपातिक तर्फ राजनीतिक दललाई दिने मत हो। त्यसमा पनि पहिलो मतपत्रमा जस्तै सावधानिपूर्वक एउटा निर्वाचन चिन्ह भएको कोठामा मात्रै छाप लगाएर तोकिएको मतपेटिकामा खसाल्नुहोस्।
तपाईंलाई मतपत्र पट्याउन वा प्रक्रियामा अन्यौल भएमा त्यहाँ खटिएका कर्मचारीसँग सहयोग माग्नुहोस्। यति गरेपछि मतदान प्रक्रिया सम्पन्न हुनेछ। मतदान गरिसकेपछि आफूले कसलाई मत दिएँ भनेर अरूलाई देखाउनु वा हल्ला गर्नु हुँदैन।




प्रतिक्रिया