खोप पर्खदै नागरिक : भारतबाट नपाएपछि चिनसंग किन्दै सरकार

खोप पर्खदै नागरिक : भारतबाट नपाएपछि चिनसंग किन्दै सरकार


काठमाण्डु – विश्वव्यापी फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि खोप नै महत्वपुर्ण रहेको विज्ञहरूले बताएका छन् ।नेपालमा पनि खोप अभियान सुरु गरिएको छ, तर पर्याप्त खोप नहुँदा लाखौँ मानिस खोपबाट वञ्चित भएका छन् । खोप लगाउन योग्य २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनामध्ये गत जेठ २८ गतेसम्म २३ लाख ८३ हजारले मात्रै खोप लगाउने अवसर पाएका छन् ।

बाँकी १ करोड ९३ लाख ७३ हजार ७ सय ६३ जना खोपको प्रतीक्षामा छन् । यता व्यवस्थापनमा सहजता हुने बताउँदै सरकारले भने खोप लगाउन इच्छुकहरूलाई फारम भर्न भनेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार हालसम्म साढे १३ लाखले फारम भरिसकेका छन् । दैनिक ३० हजारको हाराहारीमा फारम भर्ने गरेको मन्त्रालयको सूचना व्यवस्थापन इकाईका प्रमुख डा. अनिल थापाले जानकारी दिए ।

नेपालमा अनुदानमार्फत ४२ लाख ४८ हजार डोज खोप आएको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमण रोकथामको प्रभावकारी उपाय मानिएको कोरोनाविरुद्ध खोप अभियान अपेक्षित रूपमा अघि बढ्न सकेको छैन । सरकारले राज्यसंयन्त्रका सबै अंगलाई कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि समन्वयात्मक र आक्रामक रूपमा परिचालन गर्न नसक्दा कोभिड नियन्त्रणमा अपेक्षित प्रगतिसमेत हुन सकेको छैन ।

खोप ल्याउन पहल जारी

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले खोप आयातका लागि कूटनीतिक रूपमा पहल भइरहेको बताए । स्वास्थ्य मन्त्रालयले कोरोना खोपका लागि ४ खोप उत्पादक कम्पनीलाई पत्राचार गरेको थियो । नेपालमा दर्ता भएका कोभिसिल्ड, कोभ्याक्सिन, चिनियाँ खोप भेरोसेल, अमेरिकामा उत्पादन भएको खोप जोन्सन एन्ड जोन्सनलाई ५० लाख डोज खोप खरिदका लागि पत्राचार गरे पनि ठोस परिणाम आउन सकेको छैन ।

हालसम्म ४१ लाख ४८ हजार कोरोनाविरुद्धको खोप भित्रिएको छ । भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा, खरिद गरिएको १० लाख मात्रा खोप नेपाल भित्रिएको छ । यस्तै, चीन सरकारले अनुदानमा उपलब्ध गराएको १८ लाख मात्रा र कोभ्याक्स फ्यासिलिटीअन्तर्गत ३ लाख ४८ हजार मात्रा खोप नेपाल आएको छ ।

चीनसँग ४० लाख डोज खोप किन्ने

सरकारले सम्झौता गरेर पनि भारतबाट खोप नआएपछि अब मित्रराष्ट्र चीनबाट खोप खरिद गर्ने तयारी अघि बढाइएको छ । नेपालले भारतको सेरम इन्स्टिच्युटबाट खोप खरिदका लागि सम्झौता गर्दै ९३ लाखसमेत उपलब्ध गराएको थियो । सेरमले तत्काल खोप उपलब्ध गराउन असमर्थ रहेको जनाएपछि सरकारले विकल्प खोजेको हो । सरकारले चीनसँग ४० लाख डोज खोप किन्ने प्रक्रिया सुरु गरेको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद्ले खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएको छ । चिनियाँ कम्पनी सिनोफर्मसँग भएको सहमतिअनुसार मूल्य भने सार्वजनिक गरिएको छैन । स्वास्थ्य सेवा विभागसँग यसअघि नै सिनोफर्मले मूल्यलगायतका विषयमा ‘नन डिस्क्लोजर एग्रीमेन्ट’ प्रस्ताव गरेको थियो । तर, विभाग आफैँले निर्णय गर्न नसकेपछि मन्त्रिपरिषद्मा प्रस्ताव पठाइएको हो ।

कोभ्याक्स सुविधाअन्तर्गतको खोप एक महिना भित्र

नेपालले कोभ्याक्स सुविधाअन्तर्गतको खोप पनि छिट्टै पाउने भएको छ । गरिब तथा निम्न आय भएका देशका लागि कोभ्याक्सले जनसंख्याको २० प्रतिशत डोज खोप उपलब्ध गराउने मापदण्ड बनाएको छ । सोही सुविधा अन्तर्गत नेपालले यसअघि ३ लाख ४८ हजार डोज पाइसकेको छ । (कोभ्याक्स) ले दिन लागेको खोप एक महिना भित्र नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभाग अन्तर्गतका परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले बताए। तर कति पाउने भन्नेबारे जानकारी नभएको उनले बताए ।