तपाईँ कति हिँड्नु हुन्छ ?

तपाईँ कति हिँड्नु हुन्छ ?

स्वस्थ रहन दैनिक ५ हजार पाइला हिँड्नु स्वास्थ्यवर्धक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- स्वस्थ र तन्दुरूस्त रहन दैनिक १० हजार पाइला हिँड्नु चमत्कार जस्तै हुने लामो समयदेखि भनिँदै आएको छ । तर एउटा नयाँ अध्ययनले दैनिक ५ हजार पाइलाभन्दा कम हिँड्नु पनि पर्याप्त हुने देखाएको छ ।

विश्वभरिका साढे २ लाखभन्दा बढी मानिसमा गरिएको ताजा अध्ययनको विश्लेषणले कुनै पनि कारण उमेर नपुगी हुने मृत्युको खतरा कम गर्न दैनिक कम्तीमा ४ हजार पाइला नै पर्याप्त हुने देखाएको हो ।

मुटु र रक्त धमनीलाई फाइदा पुगोस् भन्नका लागि २,३०० पाइला नै काफी छ । हुन त जति धेरै हिँड्यो त्यति बढी स्वास्थ्यलाई फाइदा हुने अनुसन्धानकर्ताहरू बताउँछन् ।

४ हजारभन्दा बढी पाइलाहरू हिँडेर २० हजार पाइलासम्म पुर्‍याउँदा थपिएको प्रत्येक एक हजार पाइलाले समय नहुँदै हुने मृत्युको खतरा १५ प्रतिशतसम्मले घटाउने तथ्य भेटिएको छ ।

पोल्यान्डस्थित मेडिकल युनिभर्सिटी अफ लोड्ज र अमेरिकास्थित जोन्स हप्किन्स युनिभर्सिटी स्कूल अफ मेडिसिनको टोलीले हिँड्नुको फाइदा विश्वको जहाँसुकै बस्ने सबै उमेर, समूह र लिङ्गमा लागु हुने जनाएको छ ।

यद्यपि ६० वर्ष उमेरभन्दा कमका मानिसलाई यसबाट धेरै फाइदा हुन्छ । चिकित्सकहरू उपचारका लागि औषधिहरू विकसित हुँदै गएपनि त्यो मात्रै पर्याप्त नहुने बताउँछन् । उनीहरू औषधिसँगै हिंड्नु पर्ने सल्लाह दिन्छन् ।

‘हामीले जीवनशैली परिवर्तन गर्ने कुरामा जोड दिनुपर्छ । त्यसमा आहार र अभ्यास पनि पर्छ । जसले मुटुरोगको खतरा कम गर्न र दीर्घजीवनका लागि प्रभावकारी काम गर्छ,’ लोड्ज विश्वविद्यालयका प्राध्यापक माच्चेइ बनाखले भने ।

विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार शारीरिक अभ्यास पर्याप्त रूपमा नगर्दा त्यसले प्रत्येक वर्ष ३२ लाख मानिसहरूको ज्यान जान्छ, जुन विश्वभरि मृत्यु हुने चौथो कारण हो ।

शारीरिक तन्दुरुस्तीसम्बन्धी विश्वव्यापी कम्पनी ब्यारीजकी व्यक्तिगत प्रशिक्षक हनी फाइनले समस्याहरू लामो समय एकै ठाउँमा बसिरहनेमा धेरै भएको बताएकी छन् ।

‘यसले तपाईँको मेटाबोलिज्मलाई सुस्त गराउँछ र मांसपेशीको वृद्धि र बललाई असर गर्छ जसका कारण दुखाइ र पीडा हुन सक्छ’, उनले भनिन् ।

‘लामो समय बसिरहँदा त्यसले सबै खालका ढाडको समस्या पनि गराउँछ र हामीले धेरैजसो यस्तो समस्या कार्यालयमा काम गर्नेहरूमा देखेका छौँ । निरन्तर बसिरहँदा उनीहरूमा जीवनको उत्तराद्र्धमा थुप्रै समस्याहरू देखिने गर्छ’, उनी भन्छिन् ।

उभिनु, सामान बोक्नु, भुईँ सफा गर्नु, भ्याक्युम लगाउनु, फोनमा कुरा गर्दै हिँड्नु यस्ता साना साना कुराले नै हामीलाई सक्रिय बनाउने र त्यसले क्यालोरी घटाउँछ ।

दैनिक नियमित रूपमा हिँड्ने कुरा अत्यास लाग्दो लाग्न सक्छ तर स्वास्थ्यका लागि त्यो जति राम्रो अरू हुँदैन । हिँड्दा त्यसले रक्तचाप कम गराउँछ, हड्डी जोगाउनका लागि मांसपेशीलाई बलियो बनाउँछ, ऊर्जा पनि बढाउँछ र साथै स्वस्थ खानासँगै वजन बढ्न नदिन पनि मद्दत गर्छ ।

अन्य फाइदाहरूमा त्यसले मानसिक स्वास्थ्यलाई पनि राम्रो बनाउँछ र मोबाइल वा कम्प्युटरमा स्क्रीन हेर्ने समय वा अन्य कुरामा तपाईँलाई बिथोल्दैन ।

हिँड्नु लगभग सबैका लागि उपयुक्त हुन्छ किनभने र जोर्नी र मांसपेशीका लागि यो सहज हुन्छ ।