इजरायल–इरान युद्ध : अमेरिकी हस्तक्षेप घातक हुने चेतावनी

इजरायल–इरान युद्ध : अमेरिकी हस्तक्षेप घातक हुने चेतावनी


काठमाण्डु – इजरायल–इरान युद्ध चलिरहेका बेला इरानका विदेशमन्त्री अब्बास अरागचीले युद्धमा अमेरिकासँग कुनै वार्ता सम्भव नरहेको बताएका छन् ।

इस्तानबुलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री अरागचीले भने, ‘हाम्रा जनता बमबारीको चपेटामा परिरहेका छन्, यस्तो अवस्थामा हामी अमेरिकासँग कुनै किसिमको संवाद गर्न सक्दैनौं ।’

अमेरिका सुरूदेखि इरानमाथिको आक्रमणमा संलग्न रहेको आरोप उनले लगाए । उनले भने, ‘हामी कूटनीतिक वार्ताका लागि सधैं तयार छौं । अतीतमा पनि कूटनीतिक उपायले समाधान निकालेका छन् र भविष्यमा पनि यस्तै उपाय सफल हुन सक्छ । तर वार्ताको पूर्वशर्त भनेको आक्रामकता तुरुन्त रोकिनु हो ।’

विदेशमन्त्री अरागचीले इजरायल र इरानबीच जारी तनावमा अमेरिका कुनै प्रकारले संलग्न भएमा त्यसको परिणाम अत्यन्त खतरनाक हुने चेतावनी दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै हप्ता इरानमाथि आक्रमण गर्ने योजना स्वीकृत गरे तापनि अन्तिम समयमा त्यसलाई रोक्ने निर्णय गरेका थिए । इरान आफ्नो परमाणु कार्यक्रम परित्याग गर्न सहमत हुने विश्वासका साथ ट्रम्प आक्रमण गर्ने निर्णयलाई विराम दिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।