चार अर्ब बढीमा मर्दी खोलाको पानी पिउनयोग्य बनाइँदै, हाजमासँग सम्झौता


काठमाडौं– नेपाल खानेपानी संस्थान र निर्माण कम्पनी हाजमा एन्डो कर्पोरेसन बीच पोखराको मर्दी खोलाको पानी शुद्धीकरणका लागि महत्त्वपूर्ण सम्झौता भएको छ ।

संस्थान र हाजमा कम्पनी बीच भएको द्विपक्षीय सम्झौतामा पोखराको मर्दी खोलालाई प्रशोधन गरेर शुद्धीकरण गरिने र पिउनका लागि योग्य बनाइने उल्लेख छ। पोखरा क्षेत्रको खानेपानी सुधारका लागि जापान सरकारले नेपाल सरकारलाई अनुदान स्वरुप ४ अर्ब ८१ करोड रुपैयाँ सहयोग गर्ने सम्झौता भएको थियोे । यो अनुदान रकम सिभिल ठेक्काको लागि दिइएको संस्थानले जनाएको छ । जापानले दिएको कुल अनुदान रकम मध्ये ४ अर्ब २१ करोडमा सिभिल कार्यका लागि जापानमै बोलपत्र आह्वान भएको थियोे । जसमध्ये हाजमा कम्पनीले अनुमानित लागत रकम भन्दा ८ दशमलव २ प्रतिशत कममा बोलपत्र कबोल गरेको थियो ।

संस्थानको तर्फबाट महाप्रबन्धक डा. भुपेन्द्र प्रसाद र कम्पनीको तर्फबाट प्रोजेक्ट म्यानेजर हिदेकी ओइसीले सम्झौता गरे।

खानेपानीको क्षेत्रमा यो नै अहिलेसम्मकै ठुलो आर्थिक सहयोग भएको महाप्रबन्धक डा. भुपेन्द्र प्रसादले बताए।  सम्झौता अनुसार प्रतिदिन ४ करोड १० लाख लिटर पानी प्रशोधन गर्ने प्लान्ट मर्दी खोलामा राखिने भएको छ भने खानेपानी आपूर्तिका लागि १ सय किलोमिटर पाइप बिछ्याइने छ । त्यस्तै खानेपानी भण्डारण गर्न ३ वटा पानी पोखरी निर्माण गरिनेछ । पोखरा खानेपानी सुधार तथा विस्तारको लागि याचियो इन्जिनियरिङ्ग कम्पनी लिमिटेडले विस्तृत डिजाइन गरेको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement