रौतहट – पर्साको वीरगञ्ज महानगरपालिकाको विभिन्न वस्तीमा खानेपानीको अभाव भएपछि वारुण यन्त्र ( दमकल) बाट वितरण गरिएको छ ।
लामो समयदेखि पानीको आपूर्ति अवरुद्ध हुँदा र चापाकलहरू पनि सुकेपछि खानेपानीको अभाव भएको हो ।
वीरगञ्ज महानगरपालिका र सखुवा प्रसौनी गाउँपालिकाले आफ्ना विभिन्न वडाहरूमा ट्यांकरमार्फत पानी वितरण कार्य गरिरहेको छ ।
वीरगञ्जका विभिन्न टोलमा पुगेर मेयर राजेशमान सिंह आफैं ट्यांकरबाट पानी वितरण गर्दै आएका छन् । सिंहका अनुसार समस्या समाधानका लागि दीर्घकालीन योजना अघि बढाउने तयारी भइरहेको छ । तत्कालका लागि ट्यांकरमार्फत पानी आपूर्ति गरी जनतालाई सहजता दिन नगरपालिकाले पहल थालेको उनको भनाइ छ ।
सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले पनि पालिकाको वस्तीमा ट्यांकरमार्फत पानी वितरण गरिरहेका छन् । खानेपानीमन्त्रीकै गृहजिल्लामा पानीको अभाव भएको भन्दै जनमत पाटीले वीरगञ्जमा विरोध जनाएको छ । तीनै तहको सरकारले खानेपानीको विषयमा गम्भीर हुनुपर्ने र तत्काल समाधान गर्नुपर्ने उनीहरूको माग छ । खाली घैंटो र बाल्टिनसहित ‘जल सत्याग्रह’ नारासहितको ब्यानर बोकेर विरोध गरेका हुन् ।
मधेश प्रदेशमा आफ्नै पार्टीको सरकार भए पनि खानेपानीको समस्या समाधान नभए मुख्यमन्त्री कार्यालय घेराउ गर्ने उनीहरूले चेतावनी दिएका छन् ।
संघीय सरकारका खानेपानीमन्त्री प्रदीप यादवले वीरगञ्ज महानगरपालिकाका विभिन्न प्रभावित वडा, टोल र घरघरमा पुगेर स्थलगत अनुगमन गरेका छन् । उनले खानेपानी समस्या समाधानका लागि सक्रिय पहल भइरहेको बताए ।
खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि वीरगञ्जमा एसियाली विकास बैंकको सहयोगमा ४ अर्ब ५० करोड रुपैयाँ लागतको बृहत् खानेपानी आयोजना सञ्चालन भइरहेको मन्त्री यादवले जानकारी दिए । आयोजनाले खानेपानीको दीगो व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याउने उनको अपेक्षा छ ।
पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य तथा संघीय खानेपानी मन्त्री यादवसहित वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख, कर्मचारी, नेपाल खानेपानी संस्थानका वारा र पर्साका प्रमुखको उपस्थिति वीरगंजको खानेपानीको समस्या समाधानका लागि छलफल भएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।




प्रतिक्रिया