काठमाण्डु – तपाइँलाई कुनै यस्तो रेष्टुराँ थाहा छ जसमा राखिएको खानेकुराको सूचीमा राम्रो वाइनको सट्टा ‘लक्जरी’ पानी हुन्छ ? अथवा नवविवाहित जोडीलाई स्याम्पेन वा जुसको सट्टा फेन्सी पानी पिउन दिइन्छ ?
यहाँ चर्चा गरिएको पानी गुणस्तरीय मिनरल वा तपाईँको धारामा आउने पानी होइन । यसको मूल्य सयौँ डलरसम्म पर्न सक्छ । यो पानी पनि वाइन जस्तै खानेकुराको सितनसँगै आउँछ ।
चर्को मूल्य पर्ने यस्तो पानी प्राकृतिक स्रोतहरू जस्तै ज्वालामुखी बिस्फोटन भएका चट्टानहरू, हिमनदीका बरफ, वा कुहिरोका थोपाहरूबाट सङ्कलन गरिन्छ । कुनै कुनै यस्तो पानी सिधै बादलबाट पनि निकालिएको हुनसक्छ ।
प्रशोधन नभएको यो पानी बोतलमा बेचिने पानीजस्तो नभई जुन ठाउँबाट ल्याइएको हो त्यस्तै किसिमको विशेषता बोकेको हुन्छ ।
अहिले विश्वभरि सयौँ यस्ता ‘फाइन वाटर’का ब्रान्डहरू छन् । यस्ता पानीहरूबारे हामीलाई सुझाव दिने विज्ञहरू पनि भेटिन्छन् ।
पानीको पनि स्वाद हुन्छ ?
वाइन चाख्ने मानिसहरू जस्तै पानीको स्वादका पारखीहरू पनि हुन्छन् । उनीहरूको पेसा भनेकै हरेक उत्पादनको स्वाद लिएर त्यसलाई मिनरल, स्वाद र मुखमा हुने अनुभवका आधारमा मूल्याङ्कन गर्नु हो ।
‘पानी विशुद्ध पानी मात्रै होइन । हाम्रो विश्वका हरेक ठाउँमा हुने पानी फरक हुन्छ र त्यसको स्वाद पनि हुन्छ,’ लन्डनमा अस्थायी किसिमको स्टोर सञ्चालन गर्दै आएका पानीसम्बन्धी परामर्शदाता र स्वादका पारखी मिलिन पटेल भन्छन् ।
उनले मानिसहरूका लागि धाराको पानी, बोतलको पानी लगायतका विभिन्न प्रकारका पानी चाख्ने कार्यक्रमहरू पनि आयोजना गर्छन् ।
हिउँका बरफ र वर्षाको पानीबाट सङ्कलित पानी जमिनमा राम्रोसँग घुलमिल हुन पाएको हुँदैन त्यसकारण त्यस्तो पानीमा टीडीएस भनिने डिजल्भ्ड सोलिडको मात्रा कम हुन्छ । तर झरना र कुवाको पानीमा यस्तो मात्रा बढी हुन्छ ।
पटेलसँग विश्वका विभिन्न ठाउँका पानीहरूको सङ्कलन छ । उनीसँग भएका पानीको एक बोतललाई ३१८ डलर अर्थात् ४२ हजार नेपाली रुपैयाँसम्म पर्छ । उनले आयोजना गर्ने कार्यक्रमहरूमा पानीको स्वाद चाखेका मानिसहरूले हरेक फरक पानीको स्वादमा कस्तो किसिमको भिन्नता थियो भन्ने थाहा पाउँछन् ।
पानी चाख्ने प्रतियोगिता
द फाइन वाटर सोसाइटीले हरेक वर्ष भुटानदेखि एक्वेडरसम्मका विश्वभरिबाट फाइन वाटरका उत्पादकहरू भेला गर्छ र अन्तर्राष्ट्रिय पानी चाख्ने प्रतिस्पर्धा आयोजना गर्छ ।
यो सम्मेलनमा सहभागी हुने अधिकांश मानिसहरू दुर्गम ठाउँमा पानी उत्पादन गर्ने पारिवारिक व्यवसाय सञ्चालन गरिरहेकाहरू हुन्छन् ।
‘पानी चाख्ने कुरा आरम्भमा निकै हास्यास्पद कुराको रूपमा लिइयो,’ फाइन वाटर सोसाइटीका सह संस्थापक डा माइकल मासाले भने । ‘मदिरा सेवन गर्न छोड्नुपर्ने अवस्था आएपछि मैले यो सबै प्रक्रिया २० वर्ष अगाडि सुरु गरेको थिएँ,’ उनले भने ।
यी दुर्लभ र अप्रशोधित पानीहरू वर्षौँ पुराना वाइन जस्तै यससँग जोडिएका विगतका कथाहरूसँगै प्रचार गर्न सकिन्छ । यस्तो भयो भने तिनीहरूलाई अझ आकर्षक बनाउन सहयोग पुग्छ ।
स्पेन र संयुक्त राज्य अमेरिका जस्ता देशका केही रेस्टुराँहरूले निश्चित प्रकारका फाइन वाटरहरूलाई सितनसँगै खानेकुराको सूचीमा राखेका छन् ।
डा. मासाका अनुसार धार्मिक कारणले मदिरा नखाने संस्कार भएका मानिसहरूमा विशेष गरी विवाह समारोहहरूमा फाइन वाटर लोकप्रिय छ । उनी महँगो स्याम्पेनको सट्टा राम्रो उपहार पनि हुनसक्ने बताउँछन् । तर यो प्रचलनका रूपमा बढ्दै जाँदा यसका आलोचकहरू पनि छन् ।
विश्वमा सफा पानीको पहुँचका लागि सङ्घर्ष गरिरहेका लाखौँ मानिसहरू छन् । मानिसका लागि आधारभूत आवश्यकताको वस्तुलाई मुद्रा आर्जनको विषय बनाउने कुरा धेरैले सहजै स्वीकार्न सक्दैनन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार २.२ अर्ब मानिसहरू अहिले पनि सुरक्षित पिउने पानीको पहुँचबाट वञ्चित छन् । जसमध्ये ७० करोड ३० खास मानिसहरूले अझैसम्म आधारभूत खानेपानी सेवा समेत पाएका छैनन् ।
अरू कतिपय आलोचकहरूले यसलाई फेसन र एउटा जालझेलको विषय मात्रै भएको टिप्पणी गरेका छन् । उनीहरूका विचारमा पानी जहाँको भए पनि उस्तै हो । चाहे त्यो धाराको पानी होस् वा बोतलको पानी अथवा तथाकथित फाइन वाटरमा मूल्यभन्दा अरू कुनै कुराको भिन्नता छैन ।
वातावरण संरक्षणकर्मीहरूले भने बोतलमा राखिएको जुनसुकै पानी भए पनि त्यो हाम्रो ग्रहका लागि हानिकारक भएको तर्क गरेका छन् । उनीहरूका अनुसार अन्ततः ती बोतलहरू फोहोरको रूपमा परिणत हुन्छन् ।
लन्डनस्थित ग्रेशम कलेजमा वातावरण विषयका प्राध्यापक क्यारोलिन रोबट्र्स दशौँ लाख मानिसहरू सफा पानीका लागि सङ्घर्ष गरिरहँदा एउटा पानीको बोतलका लागि सयौँ डलर खर्च गर्नु अनैतिक भएको बताउँछिन् ।




प्रतिक्रिया