‘पानी छैन त जिन्दगानी छैन’ मानव जीवनको आधारभूत सत्यलाई आत्मसात गर्दै मार्च २२ मा विश्वभर विश्व जल दिवस मनाइएको छ ।
सन् १९९३ देखि मनाउन थालिएको यस दिवसले सुरक्षित र स्वच्छ पिउने पानीमा सबैको पहुँच सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।
तर विडम्बना जलस्रोतको धनी देश भनिने नेपालमै पानीको संकट गहिरिँदै गएको छ । यो संकट केवल पानीको अभाव होइन, बरु गलत व्यवस्थापन, कमजोर योजना र जलवायु परिवर्तनको प्रभावको संयुक्त परिणाम हो ।
नेपालमा पानीको वितरण सन्तुलित छैन । वर्षाको समयमा अत्यधिक पानी हुन्छ, जसले बाढी, पहिरो र क्षति निम्त्याउँछ । तर वर्षा सकिएपछि देशका धेरै भागमा खानेपानी र सिँचाइको समस्या सुरु हुन्छ । नेपालमा पानी या त धेरै हुन्छ, या त अत्यन्तै कम । बीचको सन्तुलन छैन ।
विशेषगरी पहाडी भूभागमा पानीको समस्या अझ जटिल छ, पानी आएको बेला नियन्त्रण गर्न गाह्रो, नआएको बेला अत्यावश्यक हुन्छ । विगत पाँच दशकदेखि नेपाल सरकारले पानीलाई विकासको प्रमुख एजेण्डा बनाउँदै आएको छ ।
खानेपानी आयोजना, सिँचाइ प्रणाली र जलविद्युतमा ठूलो लगानी भएको छ । तर के यो लगानीले दीर्घकालीन समाधान दिएको छ ? पहाडमा २००–३०० मिटर ड्रिल गरेर डिप बोरिङ गरेर पानी तान्दै डाँडामा भएको ट्याङ्कीमा राखेर पानी वितरण गरिरहेको देखिन्छ, त्यसो हुँदा घरघरमा सुविस्ता भयो। तलबाट पानी लिफ्ट गर्दै लगेपछि खर्च बढ्यो ।
तर पानी सबैको घरमा पुग्यो भन्ने जस्तो लाग्छ तर स्थिति त्यस्तो छैन । काम त भएको छ, तर कुन दृष्टिकोणले गरिएको छ भन्ने महत्त्वपूर्ण कुरा हो । विकासका धेरै योजना सेवा–केन्द्रित हुनुपर्नेमा प्रोजेक्ट–केन्द्रित भएका छन् ।
पहिलेको समयमा कुवा, पधेरा र प्राकृतिक मुहानहरू पानीको मुख्य स्रोत थिए । अहिले ती मुहानहरू सुक्दै गएका छन् ।
यसको विकल्पमा गहिरो बोरिङ (२००–३०० मिटर), पम्पिङ प्रणाली, ठूला ट्यांकी र पाइपलाइन प्रयोगमा आएका छन् । यसले नयाँ समस्या सिर्जना गरेको छ । भूमिगत पानी पनि घट्दै गएको छ । आजकल हामी तलबाट पानी तानिरहेका छौं, तर त्यो स्रोत पनि स्थायी छैन ।
जलवायु परिवर्तनले पानीको चक्रलाई नै प्रभावित गरेको छ । जसले गर्दा मुख्यरुपमा तापक्रम वृद्धि भईरहेको छ । जसले पानी छिटो वाष्पीकरण हुन्छ । माटो सुक्खा हुनु, मनसुन अनियमित हुनु, हिमालमा हिउँ घट्नु जस्ता प्रभाव परिरहेको छ ।
पहिले हिमालमा हिउँ जम्मा भएर बिस्तारै पग्लँदा वर्षभरि नदीमा पानी बग्थ्यो । अहिले हिउँ कम जम्ने भएकाले सुक्खा समयमा पानीको अभाव बढेको छ ।
‘जलवायु परिवर्तनले नेपालको पानीको चक्रलाई पूरै खलबल्याइदिएको छ। विश्वको तापक्रम वृद्धिसँगै इभापोरेसन (वाष्पीकरण)को दर बढेको छ । ‘जलवायु परिवर्तनको ८० प्रतिशत असर पानीमा पर्छ ।
पहिले हिउँदमा पर्ने हिउँले हाम्रा हिमालहरूलाई ‘प्राकृतिक ट्याङ्की’ का रूपमा काम गर्थे, जसले हिउँदभरि खोलामा पानीको बहाव कायम राख्थ्यो। तर अहिले हिउँ पर्न छोडेको छ, डिसेम्बर–जनवरीमा हिमालहरू काला देखिन थालेका छन् ।
यसको सिधै असर तराईको भूमिगत जलस्तरमा परेको छ । गत वर्ष त सरकारले तराईलाई ’सुक्खाग्रस्त’ नै घोषणा गर्नुपरेको थियो । हिमाल, पहाड र तराई तीनै क्षेत्रमा पानीको स्रोत घट्दै गएको छ ।
पानी व्यवस्थापनमा मानिसको आवश्यकतालाई मात्र केन्द्रमा राख्दा प्रकृतिमा गम्भीर असर परेको छ । मानवीय गतिविधिले आज खुला पानी स्रोत हराउँदै गएका छन्, वन्यजन्तु र चराचुरुङ्गी प्रभावित भएका छन्, शहरमा तापक्रम बढ्दै गएको छ ।
‘हामीले सबै पानी संकलन गर्यौं, तर प्रकृतिका लागि पानी छोडेनौं । प्रकृतिको लागि चराचुरुंगी, वन्यजन्तुको लागि जुन प्राकृतिक रुपमा हुनुपर्ने पानी छैन अहिले । उनीहरुको लागि कसले सोच्ने ? मान्छेको आवश्यकता पुरा गर्ने मात्र उद्देश्य राखेर काम गर्ने ठिक हो कि होइन ?
पानी व्यवस्थापनमा ठूला आयोजना नभई स्थानीय र साना उपायहरू अझ प्रभावकारी हुने छ । वर्षाको पानी संकलन गर्ने, साना पोखरी निर्माण गर्ने, जमिनमा पानी सोस्ने व्यवस्था गर्ने, पहाडी क्षेत्रमा पानी रोक्ने परम्परागत विधि पनि अपनाउन सकिन्छ । जहाँ पानी पर्छ, त्यहीँ संकलन गर्नुपर्छ ।
पानी व्यवस्थापनको समस्या केवल प्रविधि वा बजेटको मात्र होइन, बुझाइको समस्या पनि रहेको छ । पानीकै कारण भविष्यमा ठूलो द्वन्द्व हुन सक्छ । नेपालमा पर्याप्त जलस्रोत हुँदाहुँदै पनि कमजोर व्यवस्थापन र अल्पकालीन योजनाका कारण भविष्यमा पानीकै विषयलाई लिएर ठूलो द्वन्द्व र संकट निम्तिने खतरा देखिएको छ ।
अहिले पानीका स्रोतहरू बिस्तारै घट्दै जान थालेका छन्, जसका कारण स्थानीय तहहरू (पालिकाहरू) बीच पानीको मुहान र स्वामित्वलाई लिएर विवाद सुरु भइसकेको छ । भोलि पानीकै कारण ठूलो द्वन्द्व हुन सक्छ र यसले बसाइँसराइ तथा आर्थिक संकट समेत निम्त्याउन सक्छ । अहिले समुदायबीच स्रोतको स्वामित्वमा झगडा देखिन थाल्नु त्यसैको प्रारम्भिक सङ्केत हो ।
मनसुन : ‘सहकाल’ बाट ‘विपत्’ तिर
नेपालको सन्दर्भमा मनसुनलाई ऐतिहासिक रूपमा ‘सहकाल’ वा समृद्धिको समय मानिन्थ्यो । तर, पछिल्लो समय हाम्रो गलत दृष्टिकोण र फितलो व्यवस्थापनका कारण मनसुन विपत्को पर्याय बन्दै गएको छ । समस्या मनसुनमा होइन, हाम्रो दृष्टिकोणमा छ । यदि पानीको सही व्यवस्थापन गर्न सकियो भने मनसुन नै हाम्रो समृद्धिको मुख्य आधार बन्न सक्छ ।
नेपालमा पानीको संकट हुनुमा जलवायु परिवर्तनको प्रभावसँगै हाम्रो योजना बनाउने शैली र व्यवहारिक शिक्षाको कमी मुख्य कारण हो । हालको शिक्षा प्रणालीमा विद्यार्थीलाई किताबमा मात्र सीमित राखिएको र प्रकृतिसँग सम्बन्धित व्यवहारिक ज्ञान दिन सकिएको छैन । विद्यार्थीलाई फिल्डमा लगेर सिकाउनुपर्ने र प्रकृतिमैत्री सिकाइमा जोड दिनुपर्छ ।
समाधानका लागि स्थानीय प्रयास
पानीलाई केवल एउटा स्रोतका रूपमा मात्र नहेरी यसलाई समग्र जीवन प्रणाली र सभ्यताका रूपमा बुझ्नुपर्छ । ठूला र खर्चिला योजनाहरू मात्र समाधान होइनन्, बरु स्थानीय स्रोतमा आधारित स–साना प्रयासहरू नै दिगो हुन्छन् ।
हामीले घरघरमा ‘रिचार्ज पिट’ (पानी पुनर्भरण खाडल) बनाउने र गाउँ–गाउँमा पुराना पोखरीहरूको पुनरुत्थान गर्ने जस्ता कार्यबाट व्यवस्थापन सुरु गर्नुपर्छ । प्रकृतिमैत्री दृष्टिकोण, व्यवहारिक शिक्षा र सामूहिक प्रयासबाट मात्र आगामी भयावह संकटलाई टार्न सकिन्छ ।
समयमै सचेत भइ पानी व्यवस्थापनको दीर्घकालीन योजना नबनाए, जलवायु परिवर्तनले निम्त्याउने आगामी संकट झन् विनाशकारी हुने र त्यसले नेपाली सभ्यता र अर्थतन्त्रमै गम्भीर चोट पु¥याउने निश्चित देखिएको छ ।
जलवायु परिवर्तन विज्ञ डा. दाहालसँग गरिएको कुराकानीमा आधारित




प्रतिक्रिया