काठमाण्डु – गत जेठ २८ गते यसपालिको मनसुन कोशी प्रदेशबाट भित्रिए पनि अझै देशभर फैलिएको छैन । मनसुन कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म पुगेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार कोशी प्रदेशका बाँकी भूभाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा आगमन भएको छ ।
नेपालमा यस वर्षको मनसुन औसत मितिभन्दा ३ दिन छिटो कोशी प्रदेशको पूर्वी भूभागबाट भित्रिएको थियो । नेपालका बाँकी भूभागमा मनसुन भित्रिन अझै केही दिन लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले बिहीबार बिहान सार्वजनिक गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आगामी शनिबार दिउँसोसम्म कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा हुने सम्भावना छैन । बुलेटिनअनुसार कोशी र गण्डकी प्रदेशका १–२ स्थानमा भारी वर्षाको सम्भावना तथा मधेश, बागमती र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना रहेको छ ।
आगामी ३ दिनको पूर्वानुमानअनुसार सुदूरपश्चिममा शनिबार राति सामान्य वर्षा हुने सम्भावना छ । यसरी सुदूरपश्चिममा शनिबार रातिपछि मात्रै मनसुन पुग्ने देखिएको छ ।
शनिबार राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने पूर्वानुमान छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरू, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।




प्रतिक्रिया