काठमाण्डु – देशभरको मौसम प्रतिकूल बन्दै गएको र जोखिम बढ्ने भएकाले विभिन्न जिल्ला प्रशासन कार्यालयहरूले सतर्क रहन आह्वान गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डुले असोज १७ गतेदेखि २० गतेसम्म भारी वर्षा हुने र सोबाट जोखिमयुक्त स्थानमा बाढी, पहिरो, भू–क्षयजस्ता विपद्जन्य घटनाहरू हुन सक्ने भएकाले सतर्कता र सावधानी अपनाउन अनुरोध गरेको छ ।
प्रशासन कार्यालयले अत्यन्त जरुरी नभई सकेसम्म लामो दूरीको यात्रा नगर्न तथा काठमाण्डुबाट बाहिर जाने र बाहिरबाट काठमाण्डु प्रवेश गर्ने महानुभावहरूलाई रातको समयमा यात्रा नगर्न आग्रह गरेको छ ।
प्रशासनले विपद्को समयमा तत्काल उद्धार, सहयोग र राहतका लागि सम्पर्क नम्बर पनि उपलब्ध गराएको छ ।
उता, जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबारदेखि आगामी सोमबारसम्म ४ दिन उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाएको छ । यो समयमा भारी वर्षा हुने प्रक्षेपण समेत गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले यो समयमा नागरिकहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ । उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाले अन्नपूर्ण हिमाल, मर्दी हिमाल लगायतका क्षेत्रको पदयात्रामा नजान पदयात्री तथा पर्यटकलाई आग्रह गरेको छ ।
कास्की प्रशासन कार्यालयले गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य राजमार्ग र अन्य जोखिमयुक्त सडकखण्डमा डोजर, एक्साभेटर, लोडर लगायतका उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकाय तथा कार्यालयलाई अनुरोध गरेको छ ।
चितवन, धादिङ र तनहुँका जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयहरूले नागरिकलाई रातिमा यात्रा नगर्न अनुरोध गर्दै सूचना निकालेका छन् ।
सूचनामा उल्लेख भएअनुसार पृथ्वी राजमार्गको कोत्रे–मुग्लिन–नागढुङ्गा एवं नारायणगढ मुग्लिन सडकको विभिन्न स्थानहरूमा निरन्तर पहिरो गई समय–समयमा सवारी आवागमन अवरुद्ध हुँदै आइरहेको छ । ३ वटै जिल्लाको संयुक्त पहल एवं समन्वयमा पहिरो हटाई सवारी आवागमन सुचारु गरिएको छ ।
यसैगरी, ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहितको टोलीले काठमाडौं उपत्यकाको पानी निकास हुने एकमात्र ठाउँ चोभार गल्छीको शुक्रबार स्थलगत निरीक्षण गरेको छ ।
स्थलगत निरीक्षणपछि ललितपुरका सीडीओ सुमन घिमिरेले जोखिमयुक्त क्षेत्रका बस्तीका वासिन्दालाई सुरक्षित ठाउँमा गएर बस्न अनुरोध गर्ने बताए । जल तथा मौसम विज्ञान विभागले शनिबारदेखि काठमाण्डु उपत्यकामा समेत भारी वर्षाको प्रक्षेपण गरेकाले सीडीओ घिमिरेको संयोजकत्वमा जिल्ला सुरक्षा समितिका सबै निकायका प्रमुख सहितको टोलीले चोभार गल्छीको निरीक्षण गरेको थियो ।
गृहको चेतावनी
गृह मन्त्रालयले आगामी असोज १७ देखि २० गतेसम्म ५ प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । यसैबिच भारतको मौसम विभागले पनि सीमावर्ती बिहार राज्यसहित छत्तीसगढमा भारी वर्षाको आशंका गर्दै ‘रेड अलर्ट’ जारी गरेको छ, जसको सिधा असर नेपालका तराई जिल्लामा पर्ने देखिएको छ ।
मन्त्रालयले अत्यावश्यक नभई सकेसम्म घरदेखि टाढा र रातिको समयमा यात्रा नगर्न अनुरोध गरेको छ । जोखिमलाई ध्यानमा राख्दै जिल्ला विपद् व्यवस्थापन समितिले वर्षा र बाटोको अवस्थाको मूल्यांकन गरी सवारी सञ्चालनमा रोक लगाउनेबारे आवश्यक निर्णय लिने र सो निर्णय पालना गराउने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ ।
बाढी तथा पहिरोको जोखिममा रहेका क्षेत्रका नागरिकहरूलाई उँचो र सुरक्षित स्थानबारे जानकारी लिई आवश्यक पर्नासाथ सुरक्षित स्थानमा जान अनुरोध गरिएको छ ।




प्रतिक्रिया