तत्कालको मौसमी सूचना दिने राडार स्थापना

तत्कालको मौसमी सूचना दिने राडार स्थापना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – तात्कालिक यथार्थ मौसमी सूचना बताउने ‘वेदर राडार केन्द्र’ सञ्चालनमा आएको छ । केन्द्रले बादलका विविध प्रकृति निगरानी गर्दै तत्कालिन तथ्यांक उपलब्ध गराउँदै भविष्यको नतिजा आंकलन गर्न सघाउछ ।

केन्द्रले बादल, बादलको प्रकार, बादलमा रहेको पानीको मात्रा, चट्याङ पार्न सक्ने बादलको प्रकृति, हिमपात, असिनाको पूर्वानुमान गर्दै वर्षा र अन्य मौसमी विवरण उपलब्ध गराउँछ । सुरक्षित हवाई माग पहिचान र आम जनमानससँग जोडिएका विविध सूचना सम्प्रेषणका लागि मुलुकमै पहिलो पटक सुर्खेतमा वेदर राडार स्थापना भएको हो ।

सुर्खेतको विरेन्द्रनगर नगरपालिका–१३ रातानाङ्ला डाँडामा स्थापना भएको केन्द्रले २ सय किलोमिटर वरिपरिको मौसमी तथ्यांक अद्यावधिक गर्छ । विश्व बैंकको करिव ३० करोड रुपियाँको आर्थिक सहयोगमा स्थापना भएको केन्द्रले केही सातायता परीक्षण शुरु गरेको छ । इन्टरप्राइजेज इलेक्ट्रोनिक कर्पोरेसन (ईईसी) नामक अमेरिकी कम्पनीले ग्लोबल टेन्डरमार्फत राडर केन्द्र स्थापनाको स्वीकृती पाएकोमा सोही कम्पनीले अहिले राडार परीक्षण गरेको हो ।

परीक्षण सफल भइरहेको बताउँदै जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सरजु कुमार वैद्यले भन्नुभयो–‘राडारको अपरेसनल टेस्ट भइरहेको छ कुनै प्राविधिक गडबढी नआएको खण्डमा इइसीले यही माघ १३ गतेपछि विभागलाई हस्तान्तरण गर्दैछ ।’

देशभरीको मौसमी सूचना अद्यावधिक गर्न यस्ता स्टेसन कम्तिमा ३ ठाउँमा आवश्यक पर्ने भएकाले पाल्पा र उदयपुरमा पनि राडार केन्द्र स्थापनाको प्रकृया अघि बढेको उहाँले जानकारी दिनुभयो ।

विभागले पाल्पा र उदयपुरको संभाव्यता अध्ययन पुरा गरी ग्लोबल टेन्डर आवहन गरिसकेको छ । यी दुई ठाउँमा भने सरकारी बजेट मार्फत राडार स्थापना हुने विभागका उप–महानिर्देशक डा।जगदीश कर्माचार्यले बताउनुभयो । केन्द्रका लागि आवश्यक जग्गा प्राप्तीपछि सडक र वत्ती विस्तार गर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो । यो खबर आजको समाचारपत्रमा छ ।