काठमाण्डु– तौल घटाउने यात्रा धेरैका लागि चुनौतीपूर्ण हुन्छ। विभिन्न तरिकाले तौल घटाउन सकिने भए पनि सबै एउटै सिद्धान्तमा हुन्छन्, त्यो के हो भने हामीले सेवन गर्नेभन्दा बढी क्यालोरी शरीरले खर्च गर्नु।
यस क्रममा शरीरले सञ्चित बोसो ऊर्जा स्रोतका रूपमा प्रयोग गर्छ, तर गलत तरिका अपनाएमा मांसपेशी पनि गुम्न सक्छ।
विशेषज्ञहरूका अनुसार मांसपेशी जोगाउन दुई कुरा आधारभूत छन् : पर्याप्त पानी र प्रोटीन। मांसपेशीको ७० प्रतिशत पानी भएकाले शरीरको प्रति किलो तौलमा ३०–४० मिलिलिटर पानी दैनिक आवश्यक हुन्छ।
स्वस्थ खानेकुरा र नियमित शारीरिक गतिविधिबाट नै यो लक्ष्य हासिल गर्नुपर्छ। तर कति क्यालोरी घटाउनु छ र हाम्रो खानाको गुणस्तर कस्तो छ त्यसमा पनि ख्याल गर्नुपर्छ ।
त्यसैले गुणस्तरीय वजन घट्नु भनेको केवल तपाईँको वजन घट्नु मात्र होइन। शरीरको काम र मांसपेशीजस्तो महत्त्वपूर्ण भाग संरक्षण गर्नु पनि हो
साओ पाउलोका खेल चिकित्सक प्याब्लु ब्रागाका अनुसार, केवल तौल घटाउने मात्र लक्ष्य हुनु हुँदैन। मांसपेशी जोगाउन पनि उत्तिकै महत्वपूर्ण छ । मांसपेशी घट्दा मेटाबलिजम सुस्त हुन्छ, बोसो पगाल्ने क्षमता घट्छ र छालामा झोलोपन आउन सक्छ।
मेटाबलिजम विशेषज्ञ डा. इलेइन डियास भन्छिन्, “कडा वा खराब योजना भएको डाइटले शरीरलाई ऊर्जा अभावको अवस्थामा पुर्याउँछ, जसले मांसपेशीलाई ‘विलासिता’ ठानेर गलाउन थाल्छ।”
मांसपेशीको मात्राले दीर्घकालीन अवस्थाहरू जस्तै मोटोपना, टाइप २ मधुमेह, उच्च रक्तचाप र मुटुसम्बन्धी रोगजस्ता अवस्थाहरूलाई रोक्न मद्दत गर्दछ, जुन उमेरसँगै देखिन्छ।
ब्रागाले मानसिक स्वास्थ्यको महत्त्वमा पनि जोड दिए। “तौल घटाउने क्रममा अत्यधिक आत्मालोचना र तनावले उल्टो असर पार्न सक्छ,” उनले भने, “योजना प्रत्येक व्यक्तिको जीवनशैलीसँग मेल खाने हुनुपर्छ, अनि मात्र परिणाम दीर्घकालीन हुन्छ।”
मांसपेशीको मात्रा नगुमाई तौल घटाउने तरिका
-दैनिक मध्यम क्यालोरी डेफिसिट राख्नु (३००–५०० क्यालोरी मात्र)।
-यदि तपाईँको तौल ७० किलोग्राम छ भने तपाईँले दैनिक लगभग ९८ देखि १४० ग्राम प्रोटीन लिनुपर्छ।
-पर्याप्त प्रोटीन सेवन गर्नु — तौलको प्रति किलोमा १.४–२.० ग्राम।
-प्रोटीन स्रोतमा अण्डा, मासु, माछा, दाल, दुग्धजन्य पदार्थ समावेश गर्नु।
-पानी पर्याप्त पिउनु — प्रति किलो तौलमा ३०–४० मिलिलिटर।
-शक्ति–आधारित व्यायाम नियमित गर्नु।
-कार्डियो व्यायाम संयमित मात्रामा गरेर शक्ति प्रशिक्षणसँग सन्तुलन राख्नु।
-पर्याप्त निद्रा (७–९ घण्टा) लिनु, ताकि मांसपेशी पुनःनिर्माण होस्।
-तनाव कम राख्न ध्यान, योग वा विश्रान्ति प्रविधि अपनाउनु।
-डाइट र व्यायाम योजना क्रमशः परिवर्तन गर्नु, अचानक कडा नबनाउनु।
-आफ्नो जीवनशैली र स्वास्थ्य अनुसार व्यक्तिगत योजना बनाउन पोषणविद् वा प्रशिक्षकको सल्लाह लिनु।
स्रोत : बीबीसी




प्रतिक्रिया