पश्चिम बंगालमा कसरी फक्रियो ‘कमल’ ?

पश्चिम बंगालमा कसरी फक्रियो ‘कमल’ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – यस पटकको विधानसभा निर्वाचनमा प्रतिस्पर्धा ‘बदला’ विरुद्ध ‘बदलाव’को रूपमा देखियो ।

प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा) ले ‘बदलाव’को नारा दिँदै आफ्नो परम्परागत ‘जय श्री राम’को सट्टा ‘जय माँ काली’को नारा अपनायो । अर्कोतर्फ ममता बनर्जीले केन्द्र सरकार, भाजपा र निर्वाचन आयोगको कथित पक्षपातपूर्ण व्यवहारविरुद्ध ‘बदला’ लिन मत दिन अपिल गरिन् ।

पश्चिम बंगालमा भाजपाले २९३ मध्ये २०७ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको छ भने तृणमूल कांग्रेस ८० सिटमा सीमित भएको छ । मुख्यमन्त्रीसमेत रहेकी बनर्जी भबानीपुर सिटबाट समेत पराजित भएकी छिन् । बनर्जी अल इण्डिया त्रिनमुल कांग्रेस (टीएमसी)की अध्यक्ष हुन् ।

यसपटक पश्चिम बंगालको निर्वाचनमा धेरै कुरा पहिलो पटक भयो र परिणाम पनि पहिलो पटक भाजपाको जितका रूपमा आयो ।

पछिल्ला २५ वर्षमा पहिलो पटक निर्वाचन दुई चरणमा सम्पन्न भयोे, जबकि पहिले ६ देखि ८ चरणसम्म मतदान हुन्थ्यो । ठूलो संख्यामा केन्द्रीय सुरक्षा बलको तैनाथी र मतदाता सूची पुनरीक्षणका क्रममा करिब ९१ लाख नाम हटाइँदा राजनीतिक समीकरणहरूमा ठूलो असर प¥यो । साथै, दशकौंपछि पहिलो पटक चुनावी हिंसा पनि न्यून देखियो ।

यसपटक राज्यमा रेकर्ड तोड मतदान भयो । त्यसपछि सबै दलहरूले आ–आफ्नै तरिकाले यसको व्याख्या गर्न थाले । निर्वाचनअघि भएको मतदाता सूची पुनरीक्षण सबैभन्दा चर्चित विषय बन्यो, जसले परम्परागत मुद्दाहरूलाई पछाडि पार्‍यो ।

परिणामतः भाजपाले ममता बनर्जीको मुस्लिम र महिला मतदातामा समेत प्रभाव पार्न सफल भयो । धार्मिक आधारमा ध्रुवीकरण गराउन पार्टी सफल भयो, जसका कारण हिन्दू मतदाता एकजुट भई भाजपातर्फ उभिए ।

‘ममता बनर्जीको मुस्लिम तुष्टीकरण नीतिविरुद्ध हिन्दू समुदाय एकजुट भएर हाम्रो पक्षमा मतदान ग¥यो । विशेषगरी शहरी मतदाता सरकारप्रति निराश भएका थिए र परिवर्तनका लागि मतदान गरे’, भाजपाका नेता शुभेंदु अधिकारीले भने ।

भाजपा जितका मुख्य कारण

करिब १० वर्षको प्रयासपछि बंगालमा पहिलो पटक जित हासिल गर्न भाजपालाई विभिन्न कारणहरूले सहयोग गरे ।

– मतदाता सूची पुनरीक्षणका क्रममा ठूलो संख्यामा मतदाता नाम हटाइनु

–धार्मिक ध्रुवीकरण

–आक्रामक चुनावी प्रचार

–महिला सुरक्षाको मुद्दा (जस्तै आरजी कर प्रकरण)

–बेरोजगारी र भ्रष्टाचार

–शहरी क्षेत्रमा सरकारविरुद्ध बढ्दो असन्तुष्टि

विशेषगरी पहिलो पटक मतदान गर्ने युवाहरूले पनि परिवर्तनको पक्षमा मतदान गरे । यही कारणले कोलकाता जस्ता तृणमूल कांग्रेसको गढ मानिने क्षेत्रमा समेत बीजेपीले राम्रो प्रदर्शन गर्‍यो ।

राजनीतिक विश्लेषक शिखा मुखर्जीका अनुसार श्यामा प्रसाद मुखर्जीको जन्मभूमि भएकाले बंगाल भाजपाका लागि निकै महत्वपूर्ण थियो । ‘उनको १२५औं जन्मजयन्तीका अवसरमा प्राप्त यो जित पार्टीका लागि विशेष महत्त्वको छ । पार्टीले विगतका कमजोरीबाट सिक्दै यसपटक भावनात्मक मुद्दामा सावधानी अपनायो र ‘जय माँ काली’ जस्ता स्थानीय सांस्कृतिक नारालाई प्राथमिकता दियो’, उनले भनिन् ।

अर्की विश्लेषक शुभांगी चटर्जी भन्छिन् ‘सिलीगुडीको ‘चिकन नेक करिडोर’को रणनीतिक महत्त्वका कारण भाजपाको सत्ता आगमन सीमावर्ती सुरक्षाको हिसाबले पनि महत्वपूर्ण छ । बंगालको सीमा बंगलादेश, नेपाल, भूटान सँग जोडिएको छ र चीन पनि धेरै टाढा छैन ।’

राष्ट्रिय राजनीतिमा प्रभाव

राजनीतिक विश्लेषकहरूका अनुसार तृणमूल कांग्रेस मात्रै यस्तो शक्ति थियो जसले आफ्नै बलमा भाजपालाई कडा चुनौती दिन सक्थ्यो । तर अब यसको कमजोर अवस्थाले २०२९ को लोकसभा चुनावमा पनि प्रभाव पार्नेछ ।

तृणमूल कांग्रेसका नेताहरूले चुनाव प्रचारका क्रममा दिएका धम्कीपूर्ण अभिव्यक्तिहरूले मतदातामा डर सिर्जना भएको र यसले परिवर्तनतर्फ मतदान गर्न प्रेरित गरेको पनि विश्लेषण गरिन्छ ।

पश्चिम बंगालमा भाजपाको जित केवल एउटा राज्यको जित होइन, यसले दीर्घकालीन राजनीतिक प्रभाव पार्ने पनि विश्लेषकहरूको धारणा छ । यसले पूर्वी भारतमा ओडिशा पछि अर्को ठूलो क्षेत्रीय गढ भत्काउन सफल भएको छ ।

मे ९ मा शपथग्रहण

पश्चिम बंगालमा नयाँ सरकारको शपथग्रहण मे ९ मा हुनेछ । शपथग्रहण रवीन्द्रनाथ टैगोरको जन्मजयन्तीका दिन हुनेछ, जसलाई ऐतिहासिक क्षणका रूपमा हेरिएको छ ।