काठमाडौं – आज शुक्रबार काठमाडौं उपत्यकासहित देशभर हावाहुरी, चट्याङ र असिनासहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
आज हावाहुरी आउने, चट्याङ र असिना पर्नुका साथै प्रिमनसुन लागेयताकै ठूलो वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
विशेषगरी आज पश्चिमी क्षेत्रमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा हुने सम्भावना रहेको र मध्य तथा पूर्वी क्षेत्रमा पनि यसको थोरै सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।
मौसमविद नगरकोटीका अनुसार हावाहुरी,चट्याङ र असिनासहितको वर्षा दिउँसो र राति हुने सम्भावना छ । यसैगरी वर्षाका साथमा हावाहुरी पनि आउने प्रबल सम्भावना रहेकाले आवश्यक होसियारी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
महाशाखाका अनुसार भोलि शनिबार पनि देशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा हुने सम्भावना छ । आइतबार रातिदेखि मात्रै मौसम सुधार हुने मौसम महाशाखाले जनाएको छ ।




प्रतिक्रिया