-हेमन्त केसी,जाजरकोट – घरेलु कपडा सिलाइबुनाई तालिममा ४ महिनाअघि नेपालगञ्ज गएकी जाजरकोटको बारेकोट गाउँपालिका–१ की भद्रकला बोहरा बन्दाबन्दीका कारण उतैको रोकिएकी छिन् । घर आउने चाहना भए पनि बारेकोटसम्म हिँडेर आउने अवस्था नभएपछि उनी नेपालगञ्जको १ होटेलमा बसेर दैनिक छोराछोरीसँग फोनमा कुरा गर्दै चित्त बुझाइरहेकी छिन् ।
नेपालगञ्जबाट जाजरकोट सदरमुकाम ३२ कोस टाढा मानिन्छ । बोहरालाई कसैले उद्धार गरेर बारेकोट पुर्याइदिन्छ कि भन्ने आशा भने मरेको छैन । उनी भन्छिन्, ‘माइतीघरमा रहेका आमाबुबाको जिम्मामा १२ वर्षको छोरा र १४ वर्षकी छोडेर आएकी हुँ । उनीहरुले ‘कहिले आउनुहुन्छ आमा !’ भनेर फोन गर्छन्, तर म बन्दमा परेको छु भनेर सम्झाउँछु, पत्याउँदैनन् ।’
बारेकोट सिनाकोटमा लकडाउनको खासै प्रभाव नभएका कारण छोराछोरीले यो कुरा सजिलै पत्याउने अवस्था छैन । भद्रकलासँगै बारेकोटका मजदुरी गर्न भारत गएकादेखि काठमाडौंबाट आएर अलपत्र परेका ७६ जना नेपालगञ्जमा छन् । पर्याप्त खर्च नभएकाले आफूहरु होटेलमा सँधै खाना खाने अवस्थामा नरहेको अर्का पीडित सुरेन्द्र बोहराले बताए । ‘चिच्याउने हो भने पनि सुन्ने कोही छैन, मुटु भक्कानिएर आउँछ के गर्नु, हिँडेर जानसक्ने अवस्था छैन ।’ बोहराले भने ।
काठमाडौंबाट आएर नेपालगञ्जमै लकडाउनका कारण रोकिएका नन्दलाल बस्नेतले पनि होटलमा खाँदा सबै रकम सकिएको बताए । नेपालगञ्जको स्थानीय सरकार र प्रशासनले समेत केही नहेरेको गुनासो छ । डोल्पाका २० भन्दा बढी सर्वसाधारण पनि नेपालगञ्जमै अलपत्र परेका छन् । गाउँघरमा खेतीबाली लगाउने समय भइसकेकाले उनीहरु थप चिन्तित छन् । वैशाखको पहिलो हप्तादेखि नै मकै, गहुँ, तरकारी, भित्र्याउनेदेखि मकै रोप्नेसम्मका काम हुने गरेको छ ।
प्रभावितहरुको समस्या थाहा पाएपछि बारेकोट गाउँपालिकाले आफ्ना नागरिक अलपत्र परेको भन्दै नेपालगञ्ज उपमहानगरपालिकालाई चिट्टी लेख्दै सबैलाई राहत सामग्री दिन अनुरोध गरेको छ । बारेकोट गाउँपालिकाले लेखेको पत्रमा भनिएको छ, ‘आवश्यक प्रमाणपत्र नपुगेका सर्वसाधारणलाई पनि यसै पत्रमा उल्लेख भएको नामावालीका आधारमा राहत उपलब्ध गराउन अनुरोध छ ।’
त्यस्तै दैलेख घर भएका २० भन्दा बढी सर्वसाधारण रुकुमपश्चिमको सानीभेरी नगरपालिकामा पुगेका छन् । उनीहरु जाजरकोट हुँदै दैलेख जान चाहेको टेलिफोनमार्फत जानकारी गराएका छन् । उनीहरुले स्थानीय सरकारसँग घर जानका लागि यातायातको व्यवस्थाका लागि आग्रह गरेका छन् ।
पछिल्लो समयमा जाजरकोट घर भई काभ्रे, भक्तपुर, ललितपुर र काठमाडौंमा ज्यालादारी काम गरिरहेका ४४१ मजदुरलाई वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको पहलमा काठमाडौंबाट जाजरकोट पठाइएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी नेताहरु नारायण घर्ती, मुक्ति बस्नेत, मुस्कान रोकाय र ज्ञानु खड्काले ठाउँठाउँबाट मजदुरलाई काठमाडौंको गुर्जुधारा जम्मा गरी जाजरकोट पठाएका हुन् ।




प्रतिक्रिया