डब्लुएचओको चेतावनीः कोरोनाले बोर्डरको मतलव राख्दैन, कुनै देशले कोरोना भित्रिन्न भनेर बसे गम्भीर गल्ती हुनेछ

डब्लुएचओको चेतावनीः कोरोनाले बोर्डरको मतलव राख्दैन, कुनै देशले कोरोना भित्रिन्न भनेर बसे गम्भीर गल्ती हुनेछ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जेनेभा — विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले सबै सदस्य राष्ट्रहरुलाई कोरोना भाइरसविरुद्ध लड्न तयारी अवस्थामा रहनुपर्ने बताएको छ ।

बिहीबार विभिन्न ७ देशमा कोरोना भाइरस(कोभिड–१९)को पहिलो संक्रमण देखिएपछि विश्व स्वास्थ्य संगठनले जेनेभास्थित मुख्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै सबै सदस्य राष्ट्रहरुलाई तयारीका लागि रहन चेतावनी दिएको हो ।

‘प्रत्येक देश पहिलो केसका लागि तयार हुनैपर्छ,’ जेनेभामा आयोजित पत्रकार सम्मेलनमा डब्लूएचओका महानिर्देशक ट्रेडस एड्हानोम गेहब्रेयससले भने, ‘कुनै पनि मुलुकले कोरोना भाइरस भित्रिन्न भनेर बस्नु हुँदैन, त्यस्तो गरे गम्भीर गल्ती हुनेछ । कोरोनाले बोर्डरको मतलब राख्दैन ।’

साथै महानिर्देशक गेहब्रेयससले कोरोना भाइरसले जात र जातीयताको पनि फरक नछुट्याउने र मुलुकको जीडीपी र विकासको स्तर पनि नहेर्ने भएकाले सबै मुलुकले निकै सतर्कता अपनाउन आग्रह गरे ।

चीनमा तुलनात्मक रुपमा कोभिड–१९ संक्रमण घट्दै गए पनि युरोप र मध्यपूर्वमा यसको असर देखिन थालेपछि चिन्ताको विषय बनेको उनले बताए । बिहीबार ब्राजिल, जर्जिया, ग्रीस, नर्थ म्यासेडोनिया, नर्वे, पाकिस्तान र रोमानियामा कोरोना भाइरसको संक्रमण पहिलो पटक देखिएको छ ।

‘हामी एकदमै निर्णायक मोडमा रहेका छौं,’ महानिर्देशक गेहब्रेयससले भने, ‘इरान, इटाली र दक्षिण कोरियामा देखिएको असरले कोभिड–१९ कति खतरनाक छ भनेर देखाएको छ ।’ महानिर्देशक गेहब्रेयससले सही ढंगले सतर्कता र रोकथामका उपाय अपनाए यसलाई रोक्न सकिने पनि बताए ।

सबै देशले मौसमलाई ध्यान दिँदै आइसोलेसन युनिट, औषधि, अन्य स्वास्थ्य उपकरणको उचित प्रबन्ध गर्नुपर्ने बताउँदै उनले सबै देश कोरोनाविरुद्ध लड्न पूर्ण रुपमा तयार भएर बस्नुपर्ने चेतावनी दिए ।