सार्वजनिक स्थानमा जाँदा कपडाको मास्क लगाउँदा पनि केही हदसम्म जोगिन सकिन्छ :डब्ल्यूएचओ

सार्वजनिक स्थानमा जाँदा कपडाको मास्क लगाउँदा पनि केही हदसम्म जोगिन सकिन्छ :डब्ल्यूएचओ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मास्क लगाउने विषयमा नयाँ निर्देश जारी गरेको छ । डब्ल्यूएचओले सामाजिक दुरी कायम गर्न सम्भव नहुने स्थानहरुमा जाँदा कपडाको मास्क लगाउन भनेको हो ।

डब्लुएचओको कोभिड–१९ सम्बन्धमा प्रमुख प्राविधिक विज्ञ डा. मारिया भान केर्खोभले कपडाको मास्क मात्रै लगाउँदा पनि कोरोना भाइरस मिसिएका थुकका छिटाहरुबाट केही हदसम्म जोगिन सकिने उल्लेख गरेकी छन् ।

यसअघि डब्लूएचओका विशेषज्ञहरु मास्कले कोरोना भाइरस रोक्छ कि रोक्दैन भन्नेमा दुविधामा परेका थिए। यसैकारण उनीहरूले सर्वसाधारण सबैले मास्क लगाउनुपर्छ भन्न सकेका थिएनन्। तर अहिले कोरोना सर्ने नयाँ तरिका पत्ता लागेको भन्दै कोरोना संक्रमण सर्ने जोखिम स्थानमा जाँदा सबैले अनिवार्य मास्क लगाउनुपर्ने निर्देशिका जारी गरेको हो।

डब्लूएचओका अनुसार कोरोना लक्षण देखिनुअघि पनि व्यक्ति संक्रमित भइसकेको हुन सक्ने अर्थात् संक्रमित भइसकेर पनि कसैमा कुनै लक्षण नदेखिने तथ्य पत्ता लागेको हो। सार्वजनिक यातायात, बजार, शरणार्थी शिविर जस्ता स्थानमा जाँदा कम्तिमा घरमै बनाइएको कपडाको मास्क भए पनि लगाउन डब्ल्यूएचओले सल्लाह दिएको छ । यो नियम विश्वका धेरैजसो देशहरुले यसअघि नै लागु गरिसकेका छन् ।

कोरोना भाइरसको संक्रमण फैलिने क्रमसँगै सबैले मास्क लगाउन थालेपछि विश्वभर मास्क अभाव भएको थियो । त्यतिबेला डब्लुएचओले संक्रमित व्यक्तिको नजिक जाने र संक्रमित व्यक्तिबाहेक अन्य स्वस्थ व्यक्तिले मास्क नलगाए पनि हुने बताएको थियो । तर ६० वर्षभन्दा बढी उमेरका व्यक्तिहरुले भने मेडिकल मास्क लगाउर्नैपर्ने डब्ल्यूएचओले जनाएको छ ।