पाँच वर्षभित्रमा उपत्यकामा रेल गुड्छ : मन्त्री महासेठ


काठमाण्डौ – भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले पाँच वर्षभित्रमा उपत्यकामा रेल गुड्ने दावी गरेका छन् । आइतबार रिपोर्टस क्लब नेपालले गरेको विशेष साक्षात्कार कार्यक्रममा बोल्दै उनले अहिलेको सरकारलाई काम नगर्नका लागि कुनै पनि बहाना नभएकाले पाँच वर्षभित्रमा रेल गुड्ने बताएका हुन् ।

ईच्छाशक्ति भए जस्तोसुकै काम पनि गर्न सकिने भन्दै उनले भने “सिङ्गापुर, मलेसिया र साइप्रस विकास हुन सक्छ भने नेपाल किन सक्दैन । ईच्छाशक्ति भएपछि सबै सकिन्छ । पाँच वर्षभित्रमा उपत्यकामा रेल गुड्छ ढुक्क हुनुस् ।” महासेठले भने । “थाई एयरवेज र नेपाल वायुसेवा निगम एउटै वर्ष स्थापना भएको हो । थाइ एयरवेज आज कहाँ पुगिसक्यो । नेपाल वायुसेवा निगम कहाँ छ ? ईच्छाशक्तिका कारण हो ।”

आर्थिक समृद्धि र भौतिक पूर्वाधार विकासका लागि प्रधानमन्त्री केपी शर्मा ओली प्रतिवद्ध रहेको उल्लेख गर्दै उनले एकै वर्षमा चमत्कार गर्न नसकिए पनि पाँच वर्षभित्रमा चमत्कार गरेर देखाउने बताए ।

महासेठले केही दिनभित्र नै काठमाण्डौ महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर उप–महानगरपालिका, सडक विभाग, रेल विभाग, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाबीच विशेष छलफल गरेर काठमाण्डौ उपत्यकाको सडक र सवारी व्यवस्थापनका लागि योजना बनाइने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस
Advertisement