नगर प्रमुखमा पाँच र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित, कुन दलबाट कति विजयी ?

नगर प्रमुखमा पाँच र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित, कुन दलबाट कति विजयी ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्थानीय तहको निर्वाचनमा नगरप्रमुखमा पाँच जना र गाउँपालिका अध्यक्षमा ११ जना महिला निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार बिहीबार साँझसम्म १ सय ७८ नगरपालिकामा प्रमुख निर्वाचित भएकामा नेपाली कांग्रेसबाट नगरप्रमुखमा दुई जना र नेकपा एमालेबाट तीन जना महिला नगरप्रमुखमा निर्वाचित भएका हुन् ।

यस्तै ४०७ गाउँपालिकाको अध्यक्षमध्ये कांग्रेसबाट चार, एमालेबाट चार र नेकपा माओवादी केन्द्रबाट तीन जना महिला निर्वाचित भएका छन् । यस्तै कूल १७७ नगर उपप्रमुखमध्ये महिला १४० जना निर्वाचित भएका छन्। तीमध्ये कांग्रेसबाट ५६, एमालेबाट ६०, माओवादी केन्द्रबाट १०, नेकपा (एकीकृत समाजवादी)बाट पाँच र जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट तीन जना नगर उपप्रमुखमा निर्वाचित भएका छन् ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बाट र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दुई/दुई जना, नेपाल मजदुर किसान र नागरिक उन्मुक्ति पार्टीबाट एक÷एक जना उपप्रमुखमा निर्वाचित भएका छन् । यसैगरी ४०६ गाउँपालिका उपाध्यक्षमध्ये २८९ जना महिला निर्वाचित भएका छन् ।

कांग्रेसबाट १२६, एमालेबाट ९८, माओवादी केन्द्रबाट ४४, जसपाबाट ११, नेकपा (एकीकृत समाजवादी)बाट दुई, लोसपाबाट तीन, राप्रपाबाट दुई तथा नागरिक उन्मुक्ति, जनमत पार्टी र विवेकशील साझा पार्टीबाट एक/एक जना गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएका छन् ।

यस्तै महिला उम्मेदवार वडाध्यक्षमा ५७ जना निर्वाचित भएको आयोगले जनाएको छ । अहिलेसम्म पाँच हजार ७४७ जना वडाध्यक्षमा निर्वाचित भइसकेका छन् । यस्तै महिला सदस्यमा पाँच हजार ७४१, दलित महिला सदस्यमा पाँच हजार ६४३, सदस्यमा ३९५ जना महिला निर्वाचित भइसकेका छन् । गत वैशाख ३० गते ७५३ स्थानीय तहको निर्वाचन भएको थियो ।