प्रत्येक १० मिनेटमा चिनेकै व्यक्तिबाट १ महिलाको हत्या

प्रत्येक १० मिनेटमा चिनेकै व्यक्तिबाट १ महिलाको हत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संयुक्त राष्ट्रसंघको लागूऔषध तथा अपराध कार्यालय (यूएनओडीसी) र यूएन विमेनको नयाँ प्रतिवेदनले प्रत्येक १० मिनेटमा संसारको कुनै न कुनै ठाउँमा १ महिला वा बालिकाको हत्या उनले चिनेको व्यक्ति (पार्टनर, पति वा परिवारको सदस्य)ले गर्ने गरेको जनाएको छ ।

प्रतिवेदनका अनुसार प्रत्येक दिन १३७ जनाको त्यसरी ज्यान जान्छ । विश्वका सबै भागहरू यसबाट प्रभावित छन् ।

प्रतिवेदनले सन् २०२४ मा लगभग ५० हजार महिला र बालिकाहरू घनिष्ठ पार्टनर वा परिवारका सदस्यहरूद्वारा मारिएको जनाएको छ । ती हत्याहरू विश्वभर महिला र बालिकाको नियतवश हुने सबै हत्याको ६० प्रतिशत थिए ।

महिलाविरुद्ध हुने हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसका अवसरमा २५ नोभेम्बरमा जारी गरिएको प्रतिवेदनले एउटा डरलाग्दो सत्यलाई उजागर गर्ने क्रममा संयुक्त राष्ट्रसंघले घर महिलाहरूको लागि सबैभन्दा घातक स्थानका रूपमा रहेको जनाएको छ ।

उसले घर बाहिर पनि महिला हत्या गरिने भए पनि त्यससम्बन्धी तथ्यांकको मात्रा सीमित रहेको जनाएको छ ।

‘नारी हत्या त्यत्तिकै हुँदैन । ती प्राय: निरन्तर हुने हिंसाको परिणाम हुन्छन्, जुन अनलाइन लगायत नियन्त्रण, व्यवहार, धम्की र उत्पीडन लगायतबाट सुरु हुन सक्छ,’ यूएन वुमेनको नीति विभागकी निर्देशक सारा हेन्ड्रिक्सले भनिन् ।

अफ्रिकामा घनिष्ठ पार्टनर वा परिवारका सदस्यहरूद्वारा हुने नारी हत्याको सबैभन्दा उच्च दरको रेकर्ड छ । त्यहाँ प्रत्येक १ लाख जना महिला र बालिकाहरूमा ३ जना पीडित छन् । त्यसपछि अमेरिका १.५०, ओशिनिया १.४०, एसिया ०.७ र युरोप ०.५० प्रतिशत छन् ।

विश्वभर धेरै महिला र बालिकाहरूका लागि घर खतरनाक र कहिलेकाहीँ घातक ठाउँ बनेको यूएनओडीसीका कार्यबाहक कार्यकारी निर्देशक जोन ब्रान्डोलिनो बताउँछिन् ।

युरोप र अमेरिकामा सन् २०२४ मा धेरैजसो नारी हत्याहरू (परिवारका सदस्यबाट नभइकन) घनिष्ठ पार्टनरद्वारा गरिएको थियो । त्यो युरोपमा ६४ प्रतिशत र अमेरिकामा ६९ प्रतिशत रहेको प्रतिवेदनले जनाएको छ ।

ती हत्याहरू वर्षाैंदेखिको दुर्व्यवहारको नतिजा हुन सक्छन् । रिपोर्टमा उल्लेख भएअनुसार इश्र्या, छुट्टिन अस्वीकार गर्दा, प्रहरीमा उजुरी गरेकोमा बदला लिने वा छुट्टिएपछि नयाँ सम्बन्ध स्वीकार गर्न अस्वीकार गर्ने जस्ता कुरा हत्याका मुख्य कारणहरू थिए ।

नारी हत्याका कारण आफ्ना आमाहरू गुमाएका ३५ बालबालिकाहरू पनि प्रभावित भए । १५–४९ वर्ष उमेरका ४४ प्रतिशत महिलाहरूले पार्टनरबाट शारीरिक वा यौन हिंसाको उजुरी गर्ने प्रतिवेदनले देखाउँछ ।

प्रतिवेदनले धेरैजसो नारी हत्यामा घनिष्ठ पार्टनर वा परिवारका सदस्यहरू संलग्न रहेको देखाउँछ । त्यसमा आमरूपमा त्यसलाई उक्साउने पक्षमा घरेलु हिंसा, मदिराको प्रयोग र द्वन्द्वलाई पहिचान गरिएको छ ।

बन्दुक र प्रविधि महिला हत्याको लागि सहायक तत्वको रूपमा देखिराखेको प्रतिवेदनमा थप भनिएको छ ।

बेलायतमा सन् २०११ र सन् २०१४ को बीचमा प्रकाशित ४१ घरेलु हत्याका समीक्षा गरिएको विश्लेषणले ५८.५ प्रतिशत घटनामा हत्या गर्नुअघि जबरजस्ती नियन्त्रण र निगरानी अभ्यास गर्न प्रविधि प्रयोग गरिएको देखिएको थियो ।

पत्रकार, अभियानकर्मी र राजनीतिज्ञजस्ता सार्वजनिक रूपमा उपस्थिति जनाउनुपर्ने महिलाहरूले यस्तो प्रविधिसँग सम्बन्धित हिंसाको बढ्दो जोखिमको सामना गर्ने प्रतिवेदनमा जनाइएको छ ।

प्रतिवेदनले ती हत्या हुनुअघि नै रोक्न बलियो कानुन, सुरक्षा आदेशहरूको कार्यान्वयन र राम्रो डेटा संकलनका लागि आह्वान गरेको छ ।