काठमाण्डु – महिला युरो कपको फाइनल आइतबार हुँदैछ । उपाधिका लागि स्पेन र इङ्गल्यान्डबीच खेल हुनेछ । खेल नेपाली समय अनुसार राति पौने ९ बजे स्विटजरल्याण्डको सेन्ट ज्याकोब पार्क बासेलमा हुने छ।
यी दुई टिम दुई वर्षको अवधिमा दोस्रोपटक महत्वपूर्ण प्रतियोगिताको फाइनलमा भिड्न लागेका हुन्। इङ्ल्यान्ड युरोको साबिक विजेता हो भने स्पेन विश्व च्याम्पियन।
दुई वर्षअगाडि यी दुई टिम विश्वकपको फाइनल खेलेका थिए। त्यसमा स्पेन १–० ले विजयी भएको थियो। यो खेल इङ्ल्यान्डका लागि उपाधि रक्षाको मात्र नभई स्पनेसँग २ वर्ष पहिला विश्व विजेताबाट बञ्चित हुँदाको बदला पनि हो। त्यसैले इङ्ल्यान्ड स्पेनमाथि बदला लिने दाउमा छ ।
स्पेन नै अबको युरो उपाधिका लागि बलियो दाबेदार देखिएको छ। किनभने यो टिमले विश्वकप मात्र होइन, नेसन्स लिग पनि जितेको छ।
पछिल्लो विश्वकपयता यी दुई टिमबीच दुई पटक भेट भएको छ । त्यसमध्ये एक खेलमा इङ्ल्यान्ड १–० ले विजयी रहेको छ भने अर्कोमा स्पेन २–१ ले जित हासिल गरेको छ । युरोकपमा भने यी दुई टोलीको चौथो भेट हो। अघिल्लो युरोकपमा इङ्ल्यान्डले स्पेनलाई २–१ गोलले हराएर अन्तिम आठबाट घर पठाएको थियो। त्यसअघि २०१७ को समूह चरणमामा स्पेन २–० ले पराजित हुन पुग्यो। सन् २०१३ मा भने स्पेनले ३–२ गोलले इङ्ल्यान्डलाई पन्छाएको थियो।
पछिल्लो फिफा वरीयता अनुसार स्पेन दोस्रो तथा इंग्ल्याण्ड पाँचौं स्थान छन्। हालसम्म यी दुई टिमबीच १४ पटक प्रतिस्पर्धा भएको छ, जसमा इंग्ल्याण्डले सात खेल जितेको छ भने स्पेनसँग चार खेलमा पराजित भएको छ। इंग्ल्याण्ड र स्पेनले तीन म्याच बराबरी खेलेका छन्। तर, यो फाइनल भएकोले बराबरी खेलेरमात्र पुग्दैन जसरी पनि खेल जित्नु पर्ने हुन्छ।
विजेता टोलीले २०२५ को कोनमेबोल कोपा अमेरिकाको विजेतासँग खेलिने फाइनलिसिमा खेल्नेछ। यो खेल युरोप र दक्षिण अमेरिकाका च्याम्पियनबीचको ऐतिहासिक भिडन्त हो, जसले विश्व महिला फुटबलमा शक्ति सन्तुलनको संकेत पनि दिनेछ। अघिल्लो संस्करणमा इंग्ल्याण्डले ब्राजिललाई हराउँदै उपाधि जितेको थियो।




प्रतिक्रिया