विश्वकप समूह चरणका अन्तिम खेल किन एकै समयमा खेलाइन्छ?

विश्वकप समूह चरणका अन्तिम खेल किन एकै समयमा खेलाइन्छ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- कतारमा जारी विश्वकप २०२२ मा ३२ टोलीबीच समूह चरणका खेल भइरहेका छन्। सोमबारसम्म सबै टोलीले दुई/दुई खेल खेलिसकेका छन्। मंगलबारदेखि तेस्रो चरणका खेल हुँदैछन्।

अहिलेसम्म डिफेन्डिङ च्याम्पियन फ्रान्स, ब्राजिल र पोर्चुगल प्रि-क्वार्टरफाइनल प्रवेश गरेका छन् भने दुई खेलमा अंकविहीन रहेको आयोजक कतार र क्यानडा एक खेलअगावै प्रतियोगिताबाट बाहिरिएका छन्। उनीहरूबाहेक २८ टोली अर्को चरणका लागि भिड्दै छन्।

अहिलेसम्म एकैदिन चार खेल फरक-फरक समयमा शुरू हुँदै आएको थियो। तर, तेस्रो चरणमा एकै समूहका दुई खेल भने एकै समयमा हुने छन्। नेपाली समयानुसार समूहका अन्तिम दुई खेल राति ८:४५ बजेबाट शुरू हुने छन्। त्यस्तै, दोस्रो समूहका अन्तिम दुई खेल राति १२:४५ बजेबाट हुनेछन्।

दुई खेल फरक समयमा नभई एकै समयमा किन हुन्छ भनेर कतिपय फुटबल समर्थक अन्योलमा छन्। यस विषयलाई लिएर समर्थकले सामाजिक सञ्जालमा अनेक तर्क पनि गरिरहेका छन्।

ढाँचामा किन परिवर्तन?
तेस्रो चरणमा खेलको ढाँचा किन परिवर्तन भयो भनेर जान्नका लागि हामी सन् १९८२ को विश्वकपमा फर्किनुपर्छ। स्पेनमा आयोजना भएको उक्त प्रतियोगिताअन्तर्गत समूह २ को खेलमा अल्जेरियाले उत्कृष्ट शुरूआत गरेको थियो। उसले समूहको पहिलो खेलमा पश्चिम जर्मनीलाई २-१ ले हराएको थियो।

अल्जेरिया विश्वकपमा युरोपेली टोलीलाई हराउने पहिलो अफ्रिकी टोली बन्यो। दोस्रो खेलमा अस्ट्रियासँग २-० ले पराजित भयो। त्यसपछि तेस्रो खेलमा चिलीविरुद्ध ३-२ को जित निकाल्यो। एउटै विश्वकपमा दुई खेल जित्ने अल्जेरिया पहिलो अफ्रिकी टोली बन्यो।

भोलिपल्ट पश्चिम जर्मनी र अस्ट्रियाबीचको खेल तय थियो। यी दुवै टोलीका लागि अगाडि बढ्ने समीकरण स्पष्ट थियो। यदि, पश्चिम जर्मनीले अस्ट्रियालाई एक या दुई गोलको अन्तरले पराजित गरे दुवै टोली अघि बढेर अल्जेरिया बाहिरिन्थ्यो। अर्कोतर्फ पश्चिम जर्मनीले ४-० या सोभन्दा बढी गोल अन्तरले जिते अल्जेरिया नकआउटमा पुग्थ्यो। यता, जर्मनीले ३-० को जित निकाले अल्जेरिया र अस्ट्रियाबीचको अंक बराबरी हुन्थ्यो।

तीनै टोलीका समर्थक यो समीकरणमा मग्न थिए। अल्जेरियन टोली पनि पश्चिम जर्मनीले ४-० या सोभन्दा बढीको गोल अन्तरले जित्न चाहेको थियो। खेलको पहिलो १० मिनेटमा पश्चिम जर्मनीका सेन्ट्रल फरवार्ड होर्स्ट ह्रुबेशले अग्रता दिलाएका थिए। अल्जेरियन समर्थकले जर्मनीलाई खुब समर्थन गरेका थिए। तर, त्यसपछि पश्चिम जर्मनी र अस्ट्रियाले गोल गर्ने प्रयास नै गरेनन्। र, खेल पश्चिम जर्मनीले १-० ले जित्यो।

पश्चिम जर्मनी र अस्ट्रियाले ‘म्याच फिक्सिङ’ गरेको आरोप लगाइएको थियो। यो नतिजाले दुवै युरोपेली राष्ट्र ४/४ अंक जोड्दै अगाडि बढे भने समान अंक जोडेको अल्जेरिया विश्वकपबाट बाहिरियो। यस खेललाई पछि ‘द ह्युमिलेसन अफ गिजोन’ भनेर नामकरण गरियो।

यद्यपि, फुटबलको सर्वोच्च निकाय फिफाले कुनै पनि टोलीले नियम नतोडेको र फिक्सिङ नभएको दाबी गरेको थियो। यो खेलपछि फिफाले खेल ढाँचामा ठूलो परिवर्तन गरेको थियो। यसपछि समूहका अन्तिम दुई खेल एकै समयमा गर्ने निर्णय गरिएको थियो। ताकि, कुनै पनि टोलीले गलत फाइदा उठाउने मौका पाउने छैनन् भन्‍ने फिफाको मान्यता छ।