काठमाण्डु – विद्युत र सिँचाइ सेवामा सुधार ल्याउने दुई परियोजनाका लागि विश्व बैंकले नेपाललाई ३५ अर्ब रुपैयाँ भन्दा धेरै ऋण सहयोग स्वीकृत गरेको छ ।
विश्व बैंकको कार्यकारी निर्देशक समितिले नेपालका लागि दुईवटा परियोजनाहरू स्वीकृत गरेको हो । यी परियोजनाका लागि २५७ मिलियन अमेरिकी डलर अर्थात् ३५ अर्ब रुपैयाँको ऋण बैंकले नेपाललाई दिनेछ । बैंकका अनुसार परियोजनको मूख्य लक्ष्य विद्युत् वितरण सेवामा सुधार र सिँचाइ सेवा सुधार गरी कृषि उत्पादकत्व वृद्धि गर्ने रहेको छ ।
१२० मिलियन डलर लागतको विद्युत् आपूर्ति भरपर्दो बनाउने परियोजना अन्तर्गत कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा विद्युत् वितरण सञ्जाललाई मजबुत बनाउने, नयाँ वितरण सबस्टेशन निर्माण गर्ने, विद्यमान सञ्जालहरू स्तरोन्नति गर्ने तथा वितरण सञ्जालको वास्तविक समय निगरानी गर्न स्वचालित प्रणाली कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ । यो परियोजना कार्यान्वयन नेपाल विद्युत् प्राधिकरणले गर्नेछ ।
यस्तै १३७ मिलियन डलर भने रानी जमरा कुलरिया सिँचाइ आयोजनाको तेस्रो चरण अन्तर्गतको आयोजनामा खर्च गर्ने लक्ष्य छ । यसले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा वर्षभरी सिँचाइ सुविधा विस्तार गर्ने, कृषि उत्पादनमा वृद्धि ल्याउने र जलवायु सहनशीलता मजबुत बनाउने काम गर्ने विश्व बैंकको भनाइ छ ।
परियोजना जलस्रोत तथा सिँचाइ विभाग र कृषि विभागले संयुक्त रूपमा कार्यान्वयन गर्दैछन् । यस परियोजनाबाट थप १७,५०० हेक्टर क्षेत्रफलमा वर्षभर सिँचाइ सुविधा पुग्ने र करिब १,६०,००० जनसङ्ख्या लाभान्वित हुने अनुमान छ ।




प्रतिक्रिया