यी हुन् विश्वकपमा भारतले हार्नुका ७ कारण


काठमाण्डु- भारतलाई हराउँदै अस्ट्रेलियाले एकदिवसीय विश्वकप २०२३ को उपाधि जितेको छ । आइतवार टस हारेर पहिले ब्याटिङ गरेको भारतीय टोली २४० रनमा सिमित भएको थियो ।

जवाफमा अष्ट्रेलियाले ४३ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्दै विश्वकप २०२३ को उपाधि हात पारेको हो । यस विश्वकपमा भारत निर्विकल्प उपाधि दाबेदार मानिएको थियो।

भारत उपाधिका लागि सर्वाधिक हकदार पनि थियो।  यसपटक भारतको फाइनल सम्मको यात्रा अस्ट्रेलियाको तुलनामा निकै सहज रहेको थियो । अस्ट्रेलियाले भने लिग राउन्डदेखि नै संघर्ष गर्दै अघि बढेको हो । भारत शीर्षस्थानमा रहँदै सेमिफाइनल पुग्दा अस्ट्रेलिया तेस्रो स्थानमा रहेर अघि बढेको थियो ।

जसअनुसार जारी विश्वकपमा भारतले लिगका ९ खेल नै जितेको छ । भारत अपराजित एक्लो टोली हो । तर, क्रिकेटमा आफ्नो पक्षमा संधै सोचेजस्तो नतिजा आउँदैन। भारतले फाइन खेलमा सोचेजस्तो नजिता ल्याउन पनि सकेन ।

नरेन्द्र मोदि स्टेडियम अहमदाबादमा पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा २ सय ४० रनमा अल आउट भयो । भारतका केएल राहुलले १ सय ७ बलमा १ चौकासहित सर्वाधिक ६६ रन बनाए ।

विराट कोहलीले ६३ बलमा ४ चौकासहित ५३ रन जोडे ।कप्तान रोहित शर्माले ३१ बलमा ४ चौका र ३ छक्कासहित ४७ रन बनाए । अन्य कुनैपनी ब्याटरले राम्रो गर्न सकेनन्।

अस्ट्रेलियासामु निरीह देखिएका ६ जना भारतले ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । जसको परिणाम भारतले विश्वकप हार्न पुगेको हो ।

शुभमन, श्रेयस र सूर्यकुमारको खराब ब्याटिङ

भारतीय टोली ब्याटिङ गर्न आउँदा फास्ट बलरहरूले कुनै सहयोग पाएका थिएनन्। शुभमन गिलले खराब शट खेल्दै विकेट फ्याँके । त्यस्तै श्रेयस अय्यरले कटिङ गर्ने क्रममा विकेटकिपरको हातमा क्याच लिए । अन्त्यमा सूर्यकुमारसँग धेरै ओभर थिए तर उनी केही गर्न सकेनन् र १८ रन मात्र बनाएर प्याभिलियन फर्किए ।

कप्तान रोहितको लापरवाहीपूर्ण ब्याटिङ

विष्फोटक रुपमा रन बनाउने रोहित शर्माले फाइन खेलमा भने लापरवाहीपूर्ण ब्याटिङ गरे । राहितले हिजो जुन शट खेलेर आउट भए त्यसलाई लापरवाहीपूर्ण मानिएको हो।

पावर प्लेको ९ ओभरमा भारतको स्कोर ६६ रनको अवस्थामा १ विकेट थियो। पार्टटाइम बलर ग्लेन म्याक्सवेल १० औं ओभरमा आए। रोहितले पहिलो तीन बलमा एक छक्का र चौका हान्दै १० रन बनाएका थिए । यद्यपि चौंथो बलमा उनले ठूलो शट खेल्ने प्रयास गरे र क्याच आउट भए। रोहितले चौथो बलमा ठुलो शट खेल्नुपर्ने कुनै जरुरत थिएन । यसले भारतीय इनिङ्सको गति तोड्यो। रोहित शर्मा ४७ रन बनाएर आउट भए।

राहुलको सुस्त ब्याटिङ

बिराट कोहली ५४ रन बनाउदैँ आउट भएपछि केएल राहुल दबाबमा आए र विकेट बचाउन बिस्तारै खेल्न थाले। मध्य ओभरमा ९७ बलसम्म कुनै बाउन्ड्री आएन। केएल राहुलले १०७ बलमा ६६ रन बनाए। राहुलले आफ्नो ६६ रन मात्र बनाएर आउट भए । जसमा उनले एक एक चौका मात्र प्रहार गरे।

बलिङ र फिल्डिङमा कमजोरी

अष्ट्रेलियाका खेलाडीहरूले फिल्डिङमा आफ्नो सबथोक दिए भने अर्कोतर्फ भारतीय खेलाडीहरू फिल्डिङमा निकै कमजोर थिए। २४१ रनको सानो स्कोर जोगाउन मैदान उत्रिएको भारत पावरप्लेमा हावी रह्यो।

शमीले आफ्नो पहिलो ओभरमा डेभिड वार्नरको विकेट लिए। त्यसपछि बुमराहले पावरप्लेमा मिचेल मार्स र स्टिभ स्मिथलाई आउट गरेका थिए। पावरप्लेमा अस्ट्रेलियाले ६० रनमा ३ विकेट गुमाएको थियो। त्यसबेला धेरैलाई इंग्ल्यान्ड विरुद्ध जस्तै भारत खेलमा फर्कने ठानेका थिए।

तर, यहाँबाट रोहित शर्माले बलिङ र फिल्डिङमा आक्रमणलाई कम गरेको आरोप उनीमाथि छ। राति हुँदै गएपछि शीतबाट बच्न रोहितले पावरप्ले पछि जडेजा र कुलदीपलाई ६ ओभर बलिङ दिए। यसैमा हेड र लाबुसेनले आफूलाई सेट गर्ने अवसर पाए।

स्पिनरहरूले कुनै विकेट लिन सकेनन्

भारतीय स्पिनरहरूले फाइनल खेलमा कुनै विकेट लिन सकेनन्। यो पूरै प्रतियोगितामा भारतीय स्पिनरहरूले कुनै विकेट लिन नसकेको यो पहिलो पटक हो। कुलदीप यादव र रविन्द्र जडेजाको बलमा ट्राभिस हेडले धेरै रन बनाएका थिए ।

हेड र लाबुसेनको साझेदारी तोड्न नसक्नु

लाबुसेन र हेड साझेदारी तोड्न नसक्नु हारको एक कारण बनेको छ । भारतलाई खेल जित्न अष्ट्रेलियालाई अल आउट गर्नु पर्ने हुन्थ्यो । भारतले सुरुवातमै वार्नर ७, मिचेल मार्श १५ र स्टिभ स्मिथलाई ४ रनमा आउट गरेपछि ७ ओभरमा ४७.३ को अवस्थामा पुर्याएको थियो ।

यो अवस्थामा थप दुई विकेट लिएको भए भारत जित्न सक्थ्यो । किनभने यी दुई जोडीपछी ब्याटरको रुपमा म्याक्सवेल र जोश इंग्लिस थिए । त्यसपछि बलर आउथे । तर, लाबुसेन र हेडले १ सय ९२ रनको सानदार शतकिय साझेदारी गर्दै सहज जित दिलाए ।

पिचले साथ दिएन

वास्तवमा अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । कमिन्सले पिच राम्रोसँग बुझे र भारतलाई ब्याटिङको निम्तो दिए। त्यसको फाइदा उठाउँदै उनले भारतीय ब्याट्सम्यानलाई स्थिर हुन दिएनन् । अष्ट्रेलियाको इनिङ्सको २० ओभरपछि शीत पर्न थाल्यो। यसले मैदान ओसिलो बनायो भने बललाई भिजायो।

जसले स्पिनरहरू प्रभावहीन बनाउँदा ब्याटरको ब्याटमा बल सहजै आउन थाल्यो। जडेजा र कुलदीपले कुनै विकेट लिन सकेनन्। फास्ट बलरहरू विरुद्ध ब्याटिङ पनि सजिलो भयो। भारतले ब्याटिङ गर्दा पिचमा शित परेको थिएन । ब्याटरको ब्याटमा बल घुमेर आउदैँ थियो । जसकारण भारतका ब्याट्सम्यानलाई छक्का, चौक्का हान्न सजिलो थिएन ।

प्रतिक्रिया दिनुहोस
Advertisement