काठमाण्डु-फिफा विश्वकप फुटबलमा जापानले ट्युनिसियालाई ४ गोलले हराएको छ । विश्वकप फुटबलको यो एक हजार औँ खेल हो ।
सन् १९३० मा शुरु भएको फिफा विश्वकप ९६औँ वर्षमा आइपुग्दा एक हजार खेलको कोशेढुङ्गा पार भएको छ ।
आइतबार बिहान भएको खेलमा जापानले खेलको चौथो, ३१औँ, ६९औँ र ८३औँ मिनेटमा गोल गर्यो । दाइची कामाडाले चौथो र आयसे युएदाले ३१औँ र ८३औँ मिनेटमा गोल गरेका हुन् । त्यस्तै जुनियले ६९औँ मिनेटमा गोल गरे ।
खेलको सुरुदेखि नै आक्रामक देखिएको जापानका लागि दाइची कामादाले पहिलो गोल गरेका थिए। यो गोल जापानको विश्वकप इतिहासमै सर्वाधिक छिटो गोल हो।
जापानले समूह चरणको पहिलो खेलमा दुई पटक पछि परेको स्थिति उल्टाउँदै नेदरल्याण्ड्ससँग २–२ को बराबरी खेलेको थियो । यो जीतसँगै समूह एफमा जापानले ४ अङ्क जोडेको छ । यो समूहमा नेदरल्यान्ड्सको पनि समान ४ अङ्क छ । त्यस्तै ३ अङ्क रहेको स्विडेन तेस्रो र अङ्कविहीन ट्युनीसिया नकआउट चरणमा पुग्ने सम्भावनाबाट बाहिरिएको छ ।
विश्वकप फुटबलमा नेपाली समयअनुसार राति पौने १० बजे स्पेन र साउदी अरबले खेल्दैछन् । त्यस्तै मध्यराति पौने १ बजे बेल्जियम र इरान, सोमबार बिहान पौने ४ बजे उरुग्वे र केपभर्डे र सोमबार बिहान पौने ७ बजे न्युजिल्यान्ड र इजिप्टले खेल्दैछन् ।




प्रतिक्रिया