विश्व शान्ति स्थापनामा नेपालले पुर्‍याएको योगदानको राष्ट्रसंघले गर्‍यो प्रशंसा

विश्व शान्ति स्थापनामा नेपालले पुर्‍याएको योगदानको राष्ट्रसंघले गर्‍यो प्रशंसा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-संयुक्त राष्ट्रसंघले विश्व शान्ति स्थापनाका लागि नेपालले पुर्‍याएको योगदानको प्रशंसा गरेको छ ।

राष्ट्रसंघीय शान्ति विभागका प्रमुख एवं उपमहासचिव जीन पियरे ल्याक्रोइक्सले अमेरिकामा जारी चौथो संयुक्त राष्ट्रसंघीय प्रहरी सम्मेलनका क्रममा नेपाली प्रतिनिधिमण्डलसँगको भेट गर्दै विश्व शान्ति स्थापनार्थ नेपालको महत्वपूर्ण योगदान रहेको बताएका हुन् ।

भेटपछि ट्वीट गर्दै ल्याक्रोइक्सले भनेका छन्, ‘युएन पुलिस समिटमा नेपाली प्रतिनिधिमण्डलसँग उत्कृष्ट छलफल भयो ।राष्ट्रसंघीय शान्ति स्थापना र राष्ट्रसंघीय प्रहरीमा नेपालको महत्त्वपूर्ण योगदानका लागि प्रशंसा गर्ने अवसर पाएकोमा आभारी छु ।’

युएनस्थित नेपाल मिसनले पनि उपमहासचिव ल्याक्रोइक्ससँगको भेटमा सहयोग अभिवृद्धिबारे छलफल भएको जनाएको छ। मिसनकाअनुसार नेपाली प्रतिनिधिमण्डलले डिपार्टमेन्ट अफ अपरेसन सपोर्टका उपमहासचिव अतुल खरेसँग पनि भेटेको छ । दुबै जनासँगको भेटमा राष्ट्रसंघीय प्रहरीमा सहभागिता तथा शान्ति स्थापनार्थ नेपाल र राष्ट्रसंघबीच सहयोगलाई सुदृढ बनाउने विषयमा छलफल भएको नेपाल प्रहरीका प्रवक्ता डिआईजी दानबहादुर कार्कीले जानकारी दिए ।

गृहसचिव एकनारायण अर्यालको नेतृत्वमा पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा जारी युनाइटेड नेसन चिफ अफ पुलिस समिटमा सहभागी छ। सम्मेलनलाई सम्बोधन गर्दै गृहसचिव अर्यालले राष्ट्रसंघीय प्रहरीमार्फत विश्व शान्ति र सुरक्षामा योगदानका लागि नेपाल निरन्तर प्रतिबद्ध रहेको बताए । उच्चतम प्रविधिको विकाससँगै द्वन्द्वको बढ्दो जटिलताका विषय उजागर गर्दै गृहसचिव अर्यालले द्वन्द्वका मूल कारणहरूलाई सम्बोधन गर्नुपर्ने आवश्यकतालाई जोड दिएका थिए ।

राष्ट्रसंघीय प्रहरी सम्मेलनमा भाग लिन गृहसचिव अर्यालको नेतृत्वमा नेपाल प्रहरीका आईजीपी बसन्त कुँवर, सशस्त्र प्रहरी आईजीपी राजु अर्याल, नेपाल प्रहरीका प्रवक्ता डिआईजी दानबहादुर कार्की र सशस्त्रका एसएसपी १० असारमा अमेरिका प्रस्थान गरेका थिए ।