काठमाण्डु-आज विश्व बाघ दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले प्रत्येक जुलाई २९ मा विश्व बाघ दिवस मनाउने घोषणा गरेसँगै यो दिवस मनाउन थालिएको हो ।
बाघको संरक्षणार्थ उनीहरूको बास स्थलको संरक्षण, बाघको सङ्ख्यामा आएको ह्रासबारे जनचेतना वृद्धि, उनीहरूको संरक्षणका मुद्दाहरूको उठानका साथै बाघ संरक्षणमा भएका प्रयासहरूको सराहना र प्रोत्साहन लगायतका विषयमा केन्द्रीत भई यो दिवस मनाउने गरिन्छ ।
यो वर्षको विश्व बाघ दिवस ‘मानव बाघ सहअस्तित्व र समृद्धि’ नाराका साथ मनाउन थालिएको छ । बाघको सङ्ख्या बढेसँगै थपिएको चुनौती व्यवस्थापन गर्नु नेपालको आजको प्रमुख मुद्दा बनेको छ ।
नेपालमा आउने कुल विदेशी पर्यटकमध्ये ८० प्रतिशतभन्दा बढी प्रकृतिमा आधारित पर्यटकीय क्षेत्र घुम्न जाने गरेका छन् । त्यसमा पनि अधिकांश बाघ हेर्नका लागि आउने गरेको तथ्याङ्कले देखाएकाले बाघलाई नेपालको पर्यापर्यटन विकासका ब्राण्ड बनाउने कोसिस गर्नुपर्छ ।
पाटे बाघ विश्वका १३ देशमा पाइन्छन् । ती मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा सेन्टपिटर्सवर्गमा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो ।
प्रतिक्रिया