सी कार्यतालिका : नेकपा नेताहरुसँग सामूहिक भेटवार्ता, विभिन्न सम्झौताहरुमा हस्ताक्षर हुने


काठमाडौं । शनिबार नेपालको दुई दिने राजकिय भ्रमणमा नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङले आज आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्ने भएका छन् ।

बिहान साढे ११ बजेतिर हुने उच्चस्तरीय भेटवार्तामा नेपालबाट प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्रीहरू ईश्वर पोखरेल र उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, ऊर्जामन्त्री वर्षमान पुन, उद्योगमन्त्री मातृका यादवसहित उच्च अधिकारी सहभागी हुनेछन् ।

चिनियाँ पक्षबाट विदेशमन्त्री वाङ् यी, चिनियाँ कम्युनिस्ट पार्टी सिपिसीका पोलिटब्युरो सदस्य एवं राष्ट्रपति सीका निकट सहयोगी नेता दिङ सुइसियाङ, सिपिसीका पोलिटब्युरो सदस्य एवं पार्टीको विदेश मामिला आयोगका डाइरेक्टर, पूर्व्विदेशमन्त्री याङ जेइची, चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वशासित क्षेत्र हेर्ने सचिव यु यिङ जी, चीनको राष्ट्रिय विकास तथा सुधार आयोगका मिनिस्टर इन्चार्ज हे लिफेङसहितका उच्च अधिकारीको सहभागिता रहने छ ।

प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्नुअघि राष्ट्रपति सीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नेकपाका सचिवालय सदस्यहरूसँग संयुक्त भेटवार्ता गर्नेछन् । यो भेटवार्ता अहिले बिहान साढे १० बजे सोल्टी होटलमा हुने बताइएको छ । प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच हुने द्विपक्षीय वार्तामा विभिन्न सम्झौताहरूमा हस्ताक्षर हुनेछ । यो क्रम करिब १ घण्टासम्म चल्ने बताइएको छ । द्विपक्षीय वार्तापछि चिनियाँ राष्ट्रपति सी दिउँसो १ बजे विमानस्थलबाट स्वदेश प्रस्थान गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement