तिब्बतको ताल सुक्यो, तर जोखिम अझै कायमै

तिब्बतको ताल सुक्यो, तर जोखिम अझै कायमै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – तिब्बतको सिजाङ स्वायत्त क्षेत्रको ग्यिरोङ काउन्टीमा बनेको ताल करिब पूर्ण रूपमा सुकेको छ । तर तालमा मिसिने नेपालको नदीमा बनेको ठूलो कटान खाल्डो र तालभन्दा तलतर्फ रहेका तीनवटा जलमग्न क्षेत्रमा अझै ठूलो जोखिम रहेको छ ।

चीनको जलस्रोत मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार ड्रोनबाट खिचिएका दृश्य, पानोरामिक तस्बिर तथा घटनास्थलमा खटिएको आपत्कालीन टोलीबाट प्राप्त विवरणका आधारमा गरिएको पछिल्लो मूल्याङ्कनमा चीनको प्युरेपू छाङ्पो नदीमा बनेको ताल करिब पूर्ण रूपमा खाली भएको छ र नदीको बहाव पनि सामान्य अवस्थामा फर्किएको छ ।

तर प्युरेपू छाङ्पो नदीमा मिसिने छोछेन खोलामा भने अझै ठूलो जोखिम रहेको मन्त्रालयले जनाएको चाइना डेलीले उल्लेख गरेको छ ।

तालभन्दा करिब ५.६ किलोमिटर माथिल्लो तटीय क्षेत्रमा नेपालको उक्त नदीमा बनेको कटान खाल्डोमा अझै करिब १४ लाख घनमिटर पानी रहेको मन्त्रालयले जनाएको छ । उक्त खाल्डो बाध तालभन्दा करिब ८०० मिटर बढी उचाइमा रहेको छ ।

उपग्रहबाट प्राप्त तस्बिरका आधारमा शनिबार बिहान ११ः२३ बजेसम्म उक्त खाल्डोमा रहेको पानीको सतह क्षेत्रफल करिब १ लाख ८ हजार वर्गमिटर रहेको थियो । बिहान ७ बजेको तुलनामा यो क्षेत्रफल १९ हजार वर्गमिटरले घटेको मन्त्रालयले जनाएको छ ।

खाल्डोभन्दा तलतर्फ २.५ किलोमिटरको दूरीभित्र तीनवटा जलमग्न क्षेत्र पनि पहिचान भएका छन् । ती तीनवटै क्षेत्रको कुल सतह क्षेत्रफल ७० हजार वर्गमिटरभन्दा कम रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले भनेको छ, ‘नेपालको छोछेन खोला नदीमा रहेको कटान खाल्डो र तलतर्फका तीनवटा जलमग्न क्षेत्रले महत्वपूर्ण जोखिम तथा लुकेका खतरा निम्त्याएका छन् ।’

शनिबार नेपालतर्फ पहिरो गएपछि प्युरेपू छाङ्पो नदीमा बनेको बाध तालभन्दा २.८ किलोमिटर तलतर्फ अर्को नयाँ बाध ताल बनेको पनि मन्त्रालयले जनाएको छ । माथिल्लो भागबाट आएको पानीको बहावका कारण उक्त ताल फुटिसकेको र अहिले पानी नदीको नियमित धारमा बगिरहेको अवस्थामा रहेको मन्त्रालयले जनाएको छ ।

त्यस क्षेत्रका विभिन्न नदीका किनारमा थप पहिरो गएमा नयाँ ताल बन्न सक्ने जोखिम अझै रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

सिजाङको आपत्कालीन व्यवस्थापन विभागका अनुसार चीन-नेपाल सीमामा रहेको ग्यिरोङ बन्दरगाह क्षेत्रमा बुधबार पहिरो जाँदा शनिबार साँझ ६ बजेसम्म १६ जनाको मृत्यु भएको र ५४६ जना अझै बेपत्ता रहेका छन् ।