मन्त्री यादव र मुख्यमन्त्री आचार्यबीच भेटवार्ता

मन्त्री यादव र मुख्यमन्त्री आचार्यबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – खानेपानीमन्त्री प्रदीप यादव तथा लुम्बीनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यबीच मंगलबार मन्त्रालयमा भेटर्वार्ता सहित लुम्बीनी प्रदेशमा हाल सञ्चालनमा रहेका विभिन्न खानेपानी आयोजनाका विषयमा छलफल भएको छ ।

भेटर्वार्ताका क्रममा मुख्यमन्त्री आचार्यले लुम्बीनी प्रदेशमा संघीय सरकारको बजेटबाट सञ्चालन भइरहेका कतिपय खानेपानीका आयोजनामा ८० प्रतिशत काम सम्पन्न भएका तथा १५–२० प्रतिशत रकम थपेर सम्पन्न हुने अवस्थामा रहेकाले ती आयोजना सम्पन्न गराउनका लागि आवश्यक बजेट विनियोजन गर्न आग्रह गरेका थिए ।

उनले भने, ‘संघीय सरकारबाट लुम्बीनी प्रदेशमा खानेपानीका आयोजनामा करीब अढाइ करोडभन्दा बढी रकम लगानी भइसकेको छ । थोरै रकम अभावमा केही योजना सम्पन्न गर्न बाँकी छन् । ती योजना सम्पन्न गरिदिन रकमान्तर गरेर भएपनि बजेट विनियोजन गर्न मेरो आग्रह छ ।’

लुम्बीनी प्रदेशमा कम्तीमा पनि एक–डेढ अर्ब मात्रै बजेट विनियोजन भए संघीय सरकारबाट सञ्चालिन खानेपानीका आयोजना सबै सम्पन्न हुने मुख्यमन्त्री आचार्यले जानकारी गराए । उनले भने, ‘संघले सुरु गरेका खानेपानीका आयोजना संघले नै सम्पन्न गर्नुपर्ने हाम्रो माग छ । यात संघले बजेट थप दिनुपर्‍यो, होइन भने आफैं आयोजना सम्पन्न गर्नुपर्‍यो ।’

उक्त अवसरमा मन्त्री यादवले थोरै रकमले काम सम्पन्न गर्न सकिने र नागरिकलाई शुद्ध खानेपानी वितरण गर्न सकिने खानेपानी आयोजनाका विषयमा प्रदेश सरकारले लिखित रूपमा मन्त्रालयमा जानकारी गराएको खण्डमा ती आयोजनाहरू सम्पन्न गराउनेतर्फ मन्त्रालय अघि बढ्ने बताए । उनले भने, ‘बजेट अभाव छ । नयाँ योजना नराखौं । ८० प्रतिशत काम सम्पन्न भएका र थोरै लगानीमा पूर्व रूपमा काम सम्पन्न हुने अवस्थामा रहेका आयोजनाका विषयमा जानकारी दिनुहोला । आयोजना सम्पन्न गर्न हाम्रोबाट पूर्ण सहयोग रहने छ ।’

भेटर्वार्तामा खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, लुम्बिनी प्रदेशका सचिव, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ लगायतको सहभागिता थियो ।