महोत्तरी– गत शनिबार महोत्तरी जिल्लाको सोनमा गाउँपालिका वडा नम्बर ७ सुन्दरपुरमा जेठाजुसँग बुहारीले अवैध सम्बन्ध राखेको आरोप लगाउँदै वडा अध्यक्षले जेठाजु र बुहारी दुवै जनालाई हातखुट्टा बाँधेर चरम यातना दिएपछि दुवै महिला, पुरुष गाउँबाट विस्थापित भएका हुन्।
सोनमा गाउँपालिका–७ सुन्दरपुरका वडा अध्यक्ष महेश (महेशी) यादवले स्थानीय ५५ वर्षीय इसराफिल बैठा धोबी र उनका भाइ बुहारी ३५ बर्षीया सैरुल खातुनलाई वडा कार्यालयमै ल्याएर हातखुट्टा बाँधी कुटपीट गरेर चरम यातना दिएपछि बुधबारदेखि उनीहरु घरबाट हराएका छन् ।
घटनासम्बन्धी स्थलगत सोधखोज गर्न सञ्चारकर्मीको टोली बुधबार उनीहरुको गाउँ सुन्दरपुर पुग्दा उनीहरु आ–आफ्ना घरमा फेला परेनन् भने छिमेकीहरुले उनीहरुलाई वडा अध्यक्षले कुटपीट गरेर चरम यातना दिएपछि बुधबारदेखि नै घर छोडेर गइसकेको बताए ।
छिमेकीहरुले नाम नलेख्ने शर्तमा दुवै महिला पुरुष थप यातना र कुटपीटको डरले घर र गाउँ नै छोडेर अचानक हराएको बताए ।
यस घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय महोत्तरीले अनुसन्धान गर्न थालेपछि सो वडाका वडा अध्यक्ष महेश यादव पनि हिजोदेखि गाउँमा नरहेको देखिएको छ । स्थानीयवासीले उनी कुनै विशेष काम परेको भन्दै गाउँबाट भागेका छन् ।




प्रतिक्रिया