असोज २२ गतेसम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

असोज २२ गतेसम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – यातायात व्यवस्था विभागले घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू हुने गरी रुट परमिट खुला गरेको छ ।

विभागमा मंगलबार बसेको सरोकार भएका निकायको बैठकले दशैंको समयमा सार्वजनिक यातायातलाई सहज ढंगले सञ्चालनका लागि रुट परमिट खुला गर्ने निर्णय गरेको छ ।

बैठकले चाडपर्वलाई लक्षित गरी यातायात व्यवस्थापनमा सहजता ल्याउन सार्वजनिक यातायात सेवा प्रदायकले मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङको व्यवस्थालाई निरन्तरता दिने निर्णय गरेको छ ।

यातायात व्यवसायीले टिकट बिक्रीमा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने, उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रुबाहक सवारीसाधनको सरोकार भएका निकायसँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्ने निर्णय भएको छ ।

सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा अनिवार्य टिकट लिएर मात्र यात्रा गर्ने र टिकट काउन्टरबाट यात्रुको परिचय खुल्ने विवरण सहितको चलानी लिएर मात्र सवारी सञ्चालन गर्नुपर्ने पनि बैठकको निर्णय छ ।

अनाधिकृत काउन्टर, परिचयपत्र, पोशाक नभएका व्यक्तिबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्णतया नियन्त्रण गर्ने निर्णय गरिएको छ ।

सार्वजनिक यातायात आवागमन सहज बनाउन खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको ढुवानी गर्ने बाहेकका ट्रेलर लगायत ठूला सवारीसाधन घटस्थापनादेखि पूर्णिमासम्म नारायणघाटदेखि काठमाडौंसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय भएको जनाइएको छ ।