काठमाण्डु नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएलको अध्यक्ष छान्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिइएको छ ।
अध्यक्षका लागी वाईसीएलभित्र हालका महासचिव सुवोधराज शेर्पाली र उपाध्यक्ष सुमन देवकोटाले दाबी गरेपछि नेतृत्व चयनको जिम्मा प्रचण्डलाई दिइएको हो ।
माओवादी केन्द्रको आकस्मिक स्थायी समिति बैठक बसेर प्रचण्डलाई उक्त जिम्मेवारी दिइएको स्रोतले बतायो । शनिवारबाट सुरु भएको भेलामा अध्यक्षमा सहमति नजुटेपछि माओवादीमा फेरी टिके प्रथा सुरु भएको भन्दै पार्टीभित्र चर्को आलोचना भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देवकोटालाई अध्यक्ष बनाउन चाहेको स्रोतले बतायो । देवकोटा पोखरा घर भएका नेता हुन । तर, माओवादीभित्र अधिकांश नेताहरु शेर्पालीलाई नै अध्यक्ष बनाउनुपर्ने लाईनमा छन् ।
वाईसीएलमा पदाधिकारी चयन समेत पार्टीको स्थायी समितिले गर्ने भएको छ । प्रचण्डले देवकोटलाई अध्यक्ष बनाउने निर्णय गरिसकेको निकट स्रोत बताउंछ ।
नेतृत्वले निर्वाचनमै गएर युवाको नेतृत्व चयन गर्नुपर्नेमा पार्टीले छनौट गर्न लागेको भन्दै युवा नेताहरुले त्यसको आलोचना गरेका छन् ।
माओवादी केन्द्रका युवा नेता रमेश मल्लले भनेका छन् ‘जब पार्टीभित्र अर्तर्विरोधहरु मुखरित हुन्छन् । संभव भएसम्म केन्द्रीय समितिमा हल गर्ने, हल नभए तल्लो कमिटी हुदै आम पार्टी सदस्यसम्म पुग्ने कमरेड प्रचण्डको पुरानो तरिका हो । पार्टी भित्रका आन्तरिक समस्याहरुको हल खोज्न व्यापक जनवादको प्रयोग गर्ने यो विधि नै सहि हुने गरेको थियो ।’
उनले अहिले पार्टी, युवा तथा जनवर्गीय संगठनमा देखिने नेतृत्वको गत्यारोध हल गर्न पनि आम प्रतिनिधिहरुलाई व्यापक जनवादको प्रयोग गर्न प्रोत्साहित गर्नुपर्ने धारणा राखेका छन् ।
मल्लले कार्यकर्ताले पार्टी सङ्गठन नबिगार्ने बरु थप सबल बनाउने भन्दै यसमा नेतृत्वले अनावश्यक तनाव लिन नहुने सुझाव दिएका छन् ।
सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले अगाडी भनेका छन ‘हाम्रै विद्यार्थी संगठनको केहि अगाडीको विगत फर्किदा जतिबेला माथिबाट नेतृत्व टुंगो लगाएका छौ, नेतृत्वको आकांक्षा बोकेका कोहि न कोहिले मोर्चा छोडेका छ्न तर जब आन्तरिक प्रतिस्पर्धाको विधि प्रयोग गरेका छौं, त्यतिबेला विजयी हुने मात्र नभै पराजित हुने पनि झन बढी सक्रिय देखिएका छन । भलै जनवादको प्रयोगमा भएको तत्कालीन विधि परिमार्जन गर्न आवश्यक पर्ला । तसर्थ नेतृत्व निर्माणमा पार्टी नेतृत्वले तनाव लिन छोडेर विधि भित्र हिडाउन मेहनत गर्दा राम्रो होला कि?’




प्रतिक्रिया