एमाले र माओवादीबीच पार्टी एकताको बिवाद टुंगियो


काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकता गर्ने सहमती भएको छ । पार्टी एकताको विषयमा छलफल गर्न सोमबार विहान मानभवनमा बसेको वान टु वान बैठकमा मंगलवार नै पार्टी एकताको घोषणा गर्ने सहमती भएको छ ।

दुवै नेताबीच आलै पालो एकिकृत पार्टीको अध्यक्ष र प्रधानमन्त्री बन्ने सहमती भएको छ । पार्टी एकता र सरकार गठनको बिषयमा अन्तिम गृहकार्य गर्न सोमबार दुबै नेताबीच करिव ३ घण्टा एक्ला एक्लै छलफल भएको थियो ।

स्रोतले दिएको जानकारीअनुसार दुई वर्ष पार्टी अध्यक्ष प्रचण्ड बन्नेछन् भने त्यसपछि उनि प्रधानमन्त्री बन्नेछन् । अहिलेलाई ओली प्रधानमन्त्री बन्ने र प्रचण्डपछि उनि फेरी पार्टी अध्यक्ष रहने गरी सहमती बनेको छ । दुई नेताबीच राष्ट्रपति एमालेबाट बनाउने र सभामुख माओवादीबाट बनाउने सहमती समेत भएको छ ।

ओली निकट स्रोतले दिएको जानकारीअनुसार दुबै नेताबीचको भेटमा एकताको बिभिन्न विकल्प र युवा नेताहरुको व्यवस्थापनबारे समेत छलफल भएको थियो । उनिहरुले सरकारमा पठाउने मन्त्रीहरुको बारेमा समेत छलफल गरेको स्रोतको दाबी छ । दुबै नेताबीच केही नेतालाई सरकारमा पठाउने र केहीलाई पार्टीमा जिम्मेवारी दिएर अघि बढाउने बिकल्पका बारेमा समेत बैठकमा छलफल भएको थियो ।

‘दुवै अध्यक्ष पार्टी एकता गर्न सहमत भएका छन्, नेतृत्वको बिवादबारे पनि टुंगो लागेको छ,अव मंगलवार सबै निर्णय हुने गरी आजको बैठक टुंगिएको छ ।’ ओली निकट एक नेताले काठमाडौंपाटीसंग भने ।

दुवै पार्टीका अध्यक्षले एकता संयोजन समितिको बैठकपछि पार्टी एकताको घोषणा गर्न सहमत भएका छन् । उनिहरुले त्यसका लागी आज आन्तरिक छलफल गर्ने तयारी समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement