यमनी सरकार र हुथी विद्रोहीबीच बन्दी आदान प्रदानको लागि सहमति


एजेन्सी – यमनी सरकार र हुथी विद्रोहीबीच आइतबार स्विट्जरल्याण्डमा संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको वार्ताबाट एक हजार ८१ बन्दीहरू आदान प्रदान गर्ने सम्झौता भएको यमनका लागि संयुक्त राष्ट्रसंघ विशेष प्रतिनिधि मार्टिन ग्रिफिथ्सले बताएका छन् ।

ग्रिफिथ्सले स्विजरल्याण्डमा यमनी सरकार र हुथी विद्रोहीबीच एक हप्ता लामो बैठकको समापनपछि उक्त सहमतिबारे आइतबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिएका हुन् ।

सम्झौतामा ६८१ विद्रोही र ४०० साउदी सेनाको नेतृत्वमा रहेको सरकारी सेनाको आदान प्रदानको सहमति भएको बताइएको छ । सहमतिमा ३८१ यमनी सैनिक, १५ साउदी नागरिक र चार सुडानी नागरिकलाई रिहा हुथी समूहले गर्नेछ भने ६८१ विद्राहीलाई सरकारले रिहा गर्नेछ ।

रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) ले रिहा भएका कैदीहरू उनीहरूको परिवारसम्म नपुग्दासम्म अनुगमन गर्ने बताइएको छ ।

आइसीआरसीका क्षेत्रीय निर्देशक फाब्रिजिओ कार्बोनीले परिवारबाट वर्षौदेखि छुट्टिएर रहेका कैदीमा सकारात्मक सन्देश छोड्ने भनी सम्झौताको प्रशंसा गरेका छन् ।

यमनमा द्वन्द्वरत दुई पक्षले करिब १५ हजार व्यक्तिलाई बन्दीका रूपमा राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement