काठमाण्डु – सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले पार्टी महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । राजधानीमा आइतबार पत्रकार सम्मेलन गर्दै पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पार्टीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले महाधिवेशनको लोगो सार्वजनिक गरेका छन् ।
लोगो सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पार्टीले राज्यको राज्यका सबै अंग र तहमा भ्रष्टाचार र ढिलासुस्ती बढेको बताएको छ ।
पत्रकार सम्मेलनमा वर्तमान राजनीतिमा बढेको अस्थिरता र अविश्वास, उत्पादनमा ह्रास, लगानी र पुँजीगत खर्चमा कमी, रोजगारीमा कटौती र बेरोजगारीमा बृद्धिजस्ता प्रवृत्तिले पुनरुत्थानवादी शक्तिहरूलाई हौसला दिएको उल्लेख गरेको छ ।
‘उनीहरू सामाजिक तथा साम्प्रदायिक सद्भाव र एकतालाई खल्बल्याउने प्रयत्न गर्दैछन्। राज्यका सबै अङ्ग र तहमा भ्रष्टाचार र ढिलासुस्ती बढ्दै गएको छ। मुलुकको यस्तो अवस्थामा प्रभावकारी हस्तक्षेप गर्दै मुख्यतः रोजगारी र सुशासनलाई राजनीतिको प्रमुख मुद्दा बनाउनु पर्ने भएको छ। हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) को यो महाधिवेशन त्यस क्षेत्रमा सकारात्मक हस्तक्षेप गर्ने संकल्पका साथ आयोजना हुँदैछ,’ एकीकृत समाजवादीले उल्लेख गरेको छ ।
एकीकृत समाजवादीको दसौं महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुँदैछ।महाधिवेशनमा करिब दुई हजार प्रतिनिधि तथा पर्यवेक्षकहरूको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
महाधिवेशन राष्ट्रिय प्रज्ञा–प्रतिष्ठानमा हुनेछ ।




प्रतिक्रिया