स्थानिय तहसम्म तीव्र रुपमा संगठन विस्तार गर्दै आदिवासी जनजाति युवा महासंघ

स्थानिय तहसम्म तीव्र रुपमा संगठन विस्तार गर्दै आदिवासी जनजाति युवा महासंघ


काठमाण्डु – आदिवासी जनजाति युवा महासंघले आदिवासी स्वयत्तता/संरक्षित क्षेत्र र आदिवासीको भूमि अधिकार  सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

आदिवासी वकिलहरुको समूह लाहुर्निपको सहकार्यमा युवा महासंघले अध्यक्ष हेमन्तकुमार राईको अध्यक्षतामा शनिबार ललितपुरको धराने सभाहलमा एक दिने अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रमका प्रमुख प्रशिक्षक लाहुर्निपका संघीय कोषाध्यक्ष तथा अधिवक्ता भिम राईले आईएलओ १६९ र यूएन्ड्रीपबारे प्रिजेन्टेसन प्रस्तुत गरेका थिए ।

वर्तमान अवस्थामा आदिवासी जनजातिहरुको मुद्दालाई उठाउन सरकारमा प्रतिनिधित्व गर्ने प्रतिनिधिहरु नभएको भन्दै उनले संविधानसभामा प्रभावकारी प्रतिनिधित्व गराउन आदिवासीका तर्फबाट स्वतन्त्र प्रतिनिधिको आवश्यक रहेको बताए ।

राईले राज्यको संमृद्धिका लागि आदिवासी जनजातिलाई साझेदार बनाउँन सके मात्र मुलूकको सामाजिक, सांस्कृतिक र आर्थिक विकासमा सहयोग पुग्ने बताए । त्यस्तै लाहुर्निपका कार्यक्रम संयोजक दुर्गा याम्फुले राईले पहिचान, स्वायत्तता/भूमि  सम्बन्धी व्यवस्था र कानुनबारे प्रशिक्षण दिएका थिए ।

सो क्रममा उनले आदिवासीका हक, अधिकारका लागि कानुनी लडाई कसरी लड्ने भन्नेबारे आफ्ना महत्वपूर्ण धारणा राखेका थिए । स्थानीय स्रोत तथा साधनको उपयोग गर्दा आदिवासीलगायत सरोकार पक्षसँग परामर्श गरी उनीहरुलाई लाभान्वित हुने खालका कामहरु गरिनुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा महासंघका अध्यक्ष राईले युवा महासंघको वर्तमान अवस्था, वर्तमानसम्म आउँदा गरेका कार्य, सांगठनिक संरचना र भाबी कार्ययोजना प्रस्तुत गरेका थिए ।

आदिवासी जनजातीहरुको पहिचान, अधिकार स्थापनाका लागि दृढताका साथ संघर्ष गर्नुपर्ने भन्दै उनले आदिवासी पहिचान र अधिकारको लागी भाषा, संस्कृति, प्राकृतिक श्रोतहरु लगायतका लक्षित क्षेत्रहरुलाई समेटेर अभियान सञ्चालन गरिने बताए ।

उनले स्थानिय तहसम्म तिव्र रुपमा संगठन विस्तार गर्ने, वाईफिनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा स्थापित गर्ने लगायतका भाबी कार्ययोजना रहेको बताए ।

त्यस्तै पहिचान प्राप्तिको हरेक कार्यक्रम तथा आन्दोलनमा युवा महासंघ अग्रमोर्चामा रहेको उनको भनाई थियो । युवा महासंघले आदिवासी जनजाती युवाहरुको सिप विकास तथा क्षमता निर्माण सम्बन्धी विभिन्न तालिम तथा गोष्ठी आयोजना गर्दै आइरहेको छ ।

आदिवासीहरुले भोगचलन गर्दै आएको निजी वा सार्वजनिक जग्गामाथि तीव्ररूपमा अतिक्रमण बढिरहेकोे भन्दै सहभागीहरुले त्यसप्रति चासो व्यक्त गरेका थिए ।

कार्यक्रममा लाहुर्निपका सहजकर्ता, वाईफिनका पदाधिकारी तथा सदस्यहरु, विभिन्न जातिय संस्थाबाट सहभागी, पत्रकार लगायत ६० जनाको सहभागिता रहेको थियो ।