माओवादी हिजो जस्तो अब संसदमा फर्केर आउनै सक्दैन: योगेश भट्टराई

माओवादी हिजो जस्तो अब संसदमा फर्केर आउनै सक्दैन: योगेश भट्टराई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-   नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले नेकपा माओवादी केन्द्र अब पहिले जस्तो संसदमा फर्केर आउन नसक्ने बताएका छन् । दैलेखको ठाटीकाँध गाउँपालिकामा मंगलबार भएको नेकपा एमालेको मिसन ग्रासरूट अभियानसम्बन्धी पालिकास्तरीय समीक्षा तथा प्रशिक्षण कार्यक्रममा भट्टराईले भने, ‘केही नेता पदका लागि जतिबेला जहाँ पनि हामफाल्ने गरेका छन् । नेकपा माओवादी केन्द्र हिजो जस्तो फेरि संसदमा फर्केर आउनै सक्दैन ।’

हिजो नेकपा माओवादी केन्द्र बाढीको भल जस्तै भएको उनको भनाइ थियो । भट्टराईले आज त्यो भल सुक्दै गएको दाबी गरे । ‘हिजोको त्यो बाढी फर्केर आउँदैन’, सचिव भट्टराईले भने, ‘त्यसैले नेकपा एमालेमा माओवादीले हाम फाल्नुपरेको थियो ।’

उनले एमालेको जति पनि सत्तामा आउने बाटो रहेको बताए । उनले प्रचण्ड नेतृत्वको सरकार लुते र कमजोर भएकाले अर्थतन्त्रमा आएको समस्या समाधान गर्न असफल भएको बताए ।

कार्यक्रममा एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहले जनताको बहुदलीय जनवाद (जबज)को जग बनाउन एमालेले बनाएको बाटोमा सबैलाई लाग्न आग्रह गरे ।

कार्यक्रममा पालिकाका ६ वटै वडाका भएका मिसन ग्रासरूटको गतिविधिहरूबारे समीक्षा गरिएको थियो ।