एनसेलबारे प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ दिनुपर्छ : सांसद भट्टराई

एनसेलबारे प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ दिनुपर्छ : सांसद भट्टराई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले एनसेलको शेयर खरिद–बिक्री प्रकरणमा उब्जिएका प्रश्नको सन्दर्भमा प्रधानमन्त्री र अर्थमन्त्रीले समितिमा आएर जवाफ दिनुपर्ने बताएका छन् ।

आज बुधबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै एमाले सचिव तथा पूर्व मन्त्री भट्टराईले एनसेलको विषयमा निकै गम्भीर रूपमा छलफल गर्नुपर्ने भएका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री डा. प्रकाशशरण महतलाई समितिमा बोलाउने निर्णय गर्न माग गरे ।

उनले भने, ‘प्रधानमन्त्रीको उपस्थितिमा छलफल राखियोस् । त्यसमा अर्थमन्त्री र सम्बन्धित निकाय पनि आउनुपर्छ । किनभने अहिले संसद् चलेको छैन । समितिमा आएर बोल्नुपर्छ ।’

एनसेलको शेयर खरिद–बिक्री प्रकरण गम्भीर रहेको उनले बताए । ‘यो मुद्दा सामान्य होइन । यो एकदमै गम्भीर हो । नेपालमा विदेशी लगानीको लागि हामी खुल्ला छौं । एउटा कम्पनी नेपालमा लगानी गरेर १५ वर्षमै खर्ब कमाउँछ भने नेपाल लगानीका लागि उपयुक्त छ भन्ने देखिन्छ,’ उनले भने ।

मलेसियाको आजियाटा कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणको पूर्व स्वीकृति र जानकारी विनै एनसेलको ८० प्रतिशत शेयर बेचेर नेपाल छाड्ने घोषणा गरेपछि तरङ्ग फैलिएको छ ।